काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आर्थिक वर्ष २०८३/८४ का लागि झन्डै ३१ अर्ब रुपैयाँको बजेट ल्याएको छ।
त्रिविले आर्थिक वर्ष २०८३/८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ९.७७ प्रतिशत बढी हो। गत आर्थिक वर्ष २०८२/८३ मा त्रिविले २८ अर्ब १२ करोड ५७ लाख २१ हजार रुपैयाँको बजेट ल्याएको थियो।
त्रिविले बिहीबार आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रमसँगै बजेट सार्वजनिक गरेको हो। विगतमा साउनमै बजेट ल्याउने गरेको त्रिविले यसपटक भने सिनेटर नियुक्ति हुन नसक्दा ढिला बजेट ल्याएको हो।
कुल बजेटमध्ये त्रिविको आन्तरिक स्रोतबाट १५ अर्ब २४ करोड २७ लाख ५ हजार रुपैयाँ अर्थात् ४९.३८ प्रतिशत र नेपाल सरकारको बजेटबाट १५ अर्ब ६२ करोड ८४ लाख ३ हजार रुपैयाँ अर्थात् ५०.६२ प्रतिशत व्यहोर्ने प्रस्ताव गरिएको छ।
तर नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि त्रिविलाई ७ अर्ब ३१ करोड ६ लाख ५६ हजार रुपैयाँ मात्रै अनुदान विनियोजन गरेको छ। गत वर्षको तुलनामा सरकारले त्रिविलाई करिब ४ अर्ब ८० करोड रुपैयाँ कम बजेट विनियोजन गरेको हो।
तर, नेपाल सरकारले त्रिविलाई दिने अनुदान अघिल्लो वर्षको तुलनामा घटाएपछि विश्वविद्यालयलाई यस वर्ष करिब ८ अर्ब ३१ करोड रुपैयाँ बजेट अपुग हुने त्रिविका रजिस्ट्रार रवीन्द्र शिवाकोटीले जानकारी दिए ।
प्रतिक्रिया