काठमाडौं- नेपाल टेलिकमका आकर्षक सेवा र सस्तो प्याकेजको प्रचार सामाजिक सञ्जालमा व्यापक भइरहँदा सडकमा भने टेलिकमका अव्यवस्थित तारले सर्वसाधारणको ज्यान जोखिममा पारेको छ।
विद्युत्का पोल परिवर्तन गर्ने क्रममा सडकमा झरेका फाइबर तथा टेलिफोनका तार समयमै व्यवस्थापन नहुँदा सडक र गल्लीहरू अस्तव्यस्त बनेका छन्। राज्यको स्वामित्वमा रहेको दूरसञ्चार सेवा प्रदायक संस्थाकै तारबाट नागरिकको सुरक्षामा जोखिम उत्पन्न हुनु सेवा व्यवस्थापनमाथिको गम्भीर प्रश्न हो।
यो समस्या केवल इन्टरनेट वा टेलिफोन सेवा अवरुद्ध भएको विषयमा सीमित छैन। सडकमा छरिएका र झुन्डिएका तारका कारण हुन सक्ने सम्भावित दुर्घटना रोक्ने जिम्मेवारी कसको हो भन्ने मूल प्रश्न हो।
एकातिर नेपाल टेलिकमले वार्षिक ४ हजार ९ सय ९९ रुपैयाँमा ३० एमबीपीएस इन्टरनेट उपलब्ध गराउनेलगायत विभिन्न आकर्षक प्याकेजको प्रचार गरिरहेको छ। अर्कोतिर सेवा व्यवस्थापन र प्राविधिक परिचालनमा देखिएको उदासीनताले संस्थाको कार्यशैलीमाथि प्रश्न उठाएको छ।
स्थानीय बासिन्दाले पटकपटक जानकारी गराउँदा र तार व्यवस्थापनका लागि आग्रह गर्दासमेत प्राविधिक टोली घटनास्थलमा नपुग्नु गम्भीर लापरबाही हो। नागरिकको गुनासो सुन्ने मात्र होइन, त्यसको समयमै समाधान गर्ने जिम्मेवारी पनि सेवा प्रदायककै हो।
डिजिटल नेपालको परिकल्पना र प्रविधिमैत्री सेवाको विस्तार आवश्यक छ। तर त्यससँगै सडकका पोल र गल्लीमा अव्यवस्थित रूपमा झुन्डिएका तथा झरेका तारको व्यवस्थापन र नागरिकको जीवनरक्षालाई पनि उत्तिकै प्राथमिकता दिनुपर्छ। सामाजिक सञ्जालमा देखिने विज्ञापनको चमकले सडकको वास्तविक अवस्था छोप्न सक्दैन।
यस विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल टेलिकमको नेतृत्वले तत्काल चासो दिन आवश्यक छ। घटनासँग सम्बन्धित भिडियो तथा प्रमाणसमेत सुरक्षित रहेको अवस्थामा टेलिकम व्यवस्थापनले आफ्नो जिम्मेवारीबाट पन्छिन मिल्दैन।
नेपाल टेलिकमले नागरिकको गुनासो टिप्ने मात्र होइन, समस्या समाधान गर्ने जिम्मेवार संस्थाका रूपमा आफूलाई प्रमाणित गर्नुपर्छ। सडकमा जोखिमपूर्ण अवस्थामा रहेका तार तत्काल हटाउने वा सुरक्षित रूपमा व्यवस्थापन गर्ने, सम्बन्धित निकायसँग समन्वय गर्ने र भविष्यमा यस्ता घटना दोहोरिन नदिने व्यवस्था गर्नुपर्छ।
उपभोक्तालाई क्षणिक आकर्षणका अफरभन्दा भरपर्दो र जिम्मेवार सेवा चाहिएको छ। नागरिकलाई भर्चुअल प्रचारभन्दा सुरक्षित जीवन चाहिएको छ। त्यसैले नेपाल टेलिकमले विज्ञापन र प्याकेजको प्रचारसँगै आफ्नो सेवा पूर्वाधारको सुरक्षा र व्यवस्थापनमा पनि उत्तिकै ध्यान दिनुपर्छ।
यसबारेमा सम्बन्धित निकायसँग जिज्ञासा राख्दा कसैले पनि यथोचित जवाफ दिएनन्, बरु उल्टै तार व्यवस्थापनको काम गरिने भन्दै झारा टार्ने जवाफ मात्रै दिएका छन् ।
प्रतिक्रिया