सुनकोशी–मरिण ठेक्का रद्द प्रकरणमा लेखा समितिको चासो, सात दिनभित्र सम्पूर्ण कागजात बुझाउन निर्देशन

मंगलबार, ०८ मंसिर २०८३, ११ : ४८

काठमाडौं- राष्ट्रिय गौरवको सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्द गरिएको विषयले संसदीय निगरानीको दायरामा प्रवेश गरेको छ। प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले ठेक्का रद्द गरिएको विषयका कागजात सात दिनभित्र पेश गर्न निर्देशन दिएको छ ।

आयोजनाको हेडवर्क्स, बाँध, विद्युत्गृह तथा अन्य संरचना निर्माणका लागि अघि बढाइएको नयाँ ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेका बेला रद्द गरिएपछि यस विषयमा प्रश्न उठ्दै आएको छ। ठेक्का रद्द गर्ने निर्णयको कानुनी आधार, प्रक्रियागत अवस्था र त्यसबाट राज्यलाई पर्न सक्ने आर्थिक प्रभावबारे स्पष्ट जानकारी लिन समितिले चासो देखाएको हो।

ठेक्का रद्द प्रकरणबारे मंगलबार समितिमा भएको छलफलका क्रममा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियाले बोलपत्र रद्द गर्नुको कारणबारे आफ्नो धारणा राखेका थिए। उनका अनुसार सार्वजनिक खरिद नियमावलीको १६औँ संशोधनसँग प्रक्रिया मिलाउन तथा जटिल प्रकृतिका संरचना निर्माणमा भविष्यमा कानुनी समस्या आउन नदिन पुरानो बोलपत्र प्रक्रिया रद्द गरी नयाँ प्रतिस्पर्धात्मक प्रक्रिया अघि बढाइएको हो।

महानिर्देशक रजौरियाले सक्षम निर्माण व्यवसायी छनोट, प्राविधिक क्षमता र आयोजनाको गुणस्तरलाई ध्यानमा राखेर निर्णय गरिएको बताएका छन्। उनले उक्त निर्णय कुनै निश्चित व्यक्ति वा निर्माण कम्पनीको हितलाई केन्द्रमा राखेर नभई प्रचलित कानुन र सार्वजनिक हितअनुसार गरिएको स्पष्ट पारेका छन्।

तर, ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगिसकेको अवस्थामा अचानक रद्द गरिनुले सार्वजनिक खरिद प्रणालीको पारदर्शिता र निर्णय प्रक्रियाको औचित्यमाथि प्रश्न उठाएको छ। यसअघि पनि यस विषयमा संसदीय समितिमा उजुरी परेको थियो।

सुनकोशी–मरिण आयोजना तराईका पाँच जिल्लामा वर्षभरि सिँचाइ सुविधा पुर्‍याउने र विद्युत् उत्पादन गर्ने उद्देश्यले अघि बढाइएको राष्ट्रिय गौरवको आयोजना हो। आयोजनाबाट ३१.०७ मेगावाट विद्युत् उत्पादन गर्ने तथा बागमती नदीमा मरिण खोलाको पानी मिसाएर बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका करिब १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य राखिएको छ।

आयोजनाको मुख्य सुरुङ निर्माण सम्पन्न भइसके पनि बाँध तथा विद्युत्गृहलगायतका संरचना निर्माणको ठेक्का प्रक्रियामा उत्पन्न विवादले समग्र आयोजना कार्यान्वयनमा थप चुनौती सिर्जना गरेको छ।

अब सम्बन्धित निकायले सात दिनभित्र उपलब्ध गराउने कागजात र त्यसको अध्ययनपछि सार्वजनिक लेखा समितिले गर्ने निर्णयले ठेक्का रद्द प्रकरणको वास्तविकता उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। राष्ट्रिय गौरवको आयोजनामा सार्वजनिक स्रोतको उपयोग, खरिद प्रक्रियाको पारदर्शिता र समयमै आयोजना सम्पन्न गर्ने विषयमा समितिको निगरानीलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।

मंगलबार, ०८ मंसिर २०८३, ११ : ४८

प्रतिक्रिया