काठमाडौँ – आर्थिक वर्ष २०७२÷७३ मा सञ्चित घाटा रु ३४ अर्ब रहेको नेपाल विद्युत् प्राधिकरणले आव २०७५÷७६ मा आइपुग्दा त्यसलाई घटाएर रु १५ अर्ब २२ करोडमा सीमित गरेको छ ।
विगत लामो समयदेखि आर्थिक नोक्सानी व्यहोर्दै आएको प्राधिकरणले पछिल्लो तीन वर्षमा उल्लेख्य आर्थिक वृद्धि गरी घाटा मात्रै घटाउन सफल भएको छैन । देशको आर्थिक वृद्धिका लागि सहयोगी भूमिकासमेत निर्वाह गर्न सफल भएको छ ।
आव २०७३÷७४ मा रु एक अर्ब ५१ करोड, आव २०७४÷७५ मा रु दुई अर्ब ८९ करोड र आव २०७५÷७६ मा रु सात अर्ब २० करोड खुद नाफा आर्जन गर्न सफल भएको प्राधिरकणले आगामी आवमा नै सञ्चित घाटालाई घटाउने लक्ष्य राखेको छ । उक्त महत्वाकाङ्क्षी लक्ष्य पूरा गर्न प्राधिरकणले चुहावट नियन्त्रण, विद्युत् खपतमा वृद्धि गराउनुपर्ने प्रमुख आवश्यकता देखिएको छ ।
प्राधिकरणले पछिल्लो तीन वर्षमा विद्युत् चुहावटलाई १० प्रतिशतभन्दा बढीले घटाएर १५.३२ प्रतिशतमा सीमित गरेको छ । चुहावट नियन्त्रण गर्दा मात्रै रु सात अर्ब बराबरको आम्दानी भएको प्राधिकरणको भनाइ छ ।
आव २०७५÷७६ मा प्राधिकरणको खुद आम्दानी रु ७३ अर्ब ४६ करोड र सञ्चालन खर्च रु ५८ अर्ब चार करोड रहेको छ । आव २०७४÷७५ को सञ्चालन मुनाफा रु आठ अर्ब ९२ करोडको तुलनामा आव २०७५÷७६ मा ७३ प्रतिशतले वृद्धि भई रु १५ अर्ब ४२ करोड पुगेको छ ।
यस्तै आव २०७५÷७६ मा मात्रै प्राधिकरणले रु १५ अर्ब ६५ करोड सरकारी कोषमा जम्मा गरेको छ । त्यसमा दीर्घकालीन ऋण, रोयल्टी र दीर्घकालीन ऋणको व्याजसमेत रहेको छ । यस्तै प्राधिकरणले कर्मचारीको उपदान, निवृत्तिभरण, औषधि उपचार लगायतका दीर्घकालीन दायित्वको व्यवस्थापनका लागि रु तीन अर्ब ५० करोड बराबर छुट्याएको छ ।
लगातार नाफा वृद्धि गर्दै गएको प्राधिकरणका सामु आफैँले खडा गरेको सफलताको चुनौती थपिएको छ । तीन वर्षपहिले सहज विद्युत् सेवा उपलब्ध गराउने चुनौती थियो । विद्युत्भार कटौतीको अन्त्यसँगै सुरक्षित, भरपर्दो र विश्वसनीय विद्युत् सेवा उपलब्ध गराउने चुनौती थपिएको छ ।
प्रतिक्रिया