काठमाडौं – निजी क्षेत्रले निर्माण गर्ने ९७.२० मेगावाटको इसुवा खोला जलविद्युत आयोजनाका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् ।
आयोजनामा सानिमा बैंक लिमिटेडको अगुवाईमा ६ बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । आयोजना प्रवद्र्धक केबिएनआर इसुुवा पावर लिमिटेड र बैंकहरूबीच आज लगानी सम्झौता हुने छ ।
संखुवासभामा निर्माण हुने आयोजनामा सानिमा बैंकले रु १ अर्ब ५० करोड र बाँकी कर्मचारी सञ्चय कोष, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, नेपाल एसबिआई, मेगा र कुमारी बैंक लिमिटेडले लगानी गर्नेछन् ।
कूल १० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा बैंक ऋण ८० प्रतिशत अर्थात् रु ८ अर्ब र स्वपुँजी २० प्रतिशत अर्थात रु २ अर्ब लगानी हुनेछ ।
कूल रु १० अर्बका आधारमा आयोजनाको प्रतिमेगावाट लागत करिब रु १० करोड २९ लाख हुनेछ । निजी क्षेत्रले निर्माण गर्न लागेको यो सबैभन्दा ठूलो अर्धजलाशय आयोजना हो ।
दैनिक ६ घन्टा पिकिङ गर्न सकिने आयोजनाबाट वार्षिक ६ सय ४८ गिगावाट घन्टा विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया