तराईमा २० मेगावाट क्षमताको सौर्य प्रणाली जडान हुँदै

विहीबार, १९ भदौ २०७६, १२ : ५१

काठमाडौं – उर्जामन्त्री वर्षमान पुनले तराईमा १ हजार सोलार पम्प संचालन गर्ने बिषयमा एसियाली विकास बैंकसँग छलफल गरेका छन् ।

इन्डोनेशियाको बालीमा भएको अन्तराष्ट्रिय जल तथा सिंचाई आयोगको तेस्रो विश्व सिंचाइ फोरममा सहभागी मन्त्री पुनले त्यहाँ बिभिन्न देशका समकक्षी तथा विकास नियोगका उच्च अधिकारीहरुसँग छलफल गरेका थिए ।

मन्त्री पुनले एसियाली विकास बैंकका निर्देशक मियो ओकासँग सर्लाही र रौतहटमा सिंचाइका लागि पम्प पुर्याउने विषयमा छलफल गरेका थिए । सर्लाही र रौतहटमा १ हजार सोलार पम्प पुर्याउन एडिबी सकारात्मक रहेको मन्त्री पुनले जानकारी दिए ।

उनले भने सर्लाही र रौतहटको ४० हजार हेक्टर जमीनमा सिंचाई सुविधा पुर्याउनकालागि एडिबीले अध्ययन गरिरहेको छ । त्यसमा थप सहयोग गर्न पनि एडिबी तयार छ । एडिबीले नेपालमा २० मेगावाटको सोलार विद्युत उत्पादन गर्ने परियोजनामा समेत अध्ययन गरिरहेको छ ।

हाल नेपालमा जलस्रोतको कुल क्षमताको ८ प्रतिशतभन्दा थोरै पानी मात्र सिंचाईको लागि प्रयोग भैरहेको छ । मन्त्री पुनले त्यहाँ नेपालको सिंचाई क्षेत्रमा गर्न सकिने संभावित परियोजनाका बारेमा छलफल गरेको बताएका छन ।

उक्त सम्मेलनमा ४० भन्दा बढी देशका जलस्रोत तथा सिंचाई मन्त्रीका साथै उच्च प्रतिनिधिमण्डलको सहभागिता थियो ।

विहीबार, १९ भदौ २०७६, १२ : ५१

प्रतिक्रिया