दार्चुला जिल्लाको नौगाड गाउँपलिकामा निर्माणाधीन साढे ८ मेगावाटको अपर नौगाड आयोजनाले असोज पहिलो साताबाट विद्युत् उत्पादन गर्ने भएको छ ।
आयोजनाको ९९ प्रतिशत निर्माण कार्य सम्पन्न गरेको आयोजनाले असोज पहिलो साताभित्रै नियमित विद्युत् उत्पादन थाल्ने भएको हो ।
सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रबाट साढे आठ मेगावाटको नौगाड जलविद्युत् आयोजना निर्माण गर्दै विद्युत् उत्पादन गरेको अपि हाइड्रोपावर लिमिटेडले माथिल्लो नौगाड जलविद्युत् आयोजनाको निर्माण पनि अन्तिम चरणमा पुरयाएको हो ।
यसअघि चैतभित्रै विद्युत् उत्पादन शुरु गर्ने लक्ष्य राखिएकोमा साउन महीनाको बाढी र प्राविधिक कारणले निर्माण कार्यमा केही ढिलाइ हुन गएको आयोजनाका इन्चार्ज मधुसुदन कोइरालाले जानकारी दिए ।
रु १ अर्ब ८० करोडको लागतमा माथिल्लो नौगाड निर्माण हुँदैछ । आठ मेगावट विद्युत् थप भएसँगै सुदूरपश्चिममा भइरहेको विद्युतको अनियमित कटौती पनि घट्ने विश्वास गरिएको छ ।
निजी क्षेत्र आकर्षित हुन नसकेको अवस्थामा सुदूरपश्चिम प्रदेशमा अपि हाइड्रोपावर कम्पनीले एक आयोजना सम्पन्न गरेसँगै दोस्रो आयोजनाबाट विद्युत् उत्पादनको अन्तिम तयारी थालेको हो ।
अहिले विद्युत्नगृहमा इलेक्ट्रोनिक मेकानिकल जडान तथा परीक्षणको काम भइरहेको कोइरालाले बताए । विद्युतगृहमा चार÷चार मेगावाट क्षमताका दुइटा युनिट राखिएको आयोजनाले जनाएको छ ।
भारतबाट विद्युतगृहको सामान ल्याएर जडान गरिएको छ । विसं २०७५ साउनको बाढीबाट निर्माणाधीन आयोजनामा ठूलो भौतिक क्षति भएका कारण आयोजनाको लागत र समय थप गरिएको उहाँको भनाइ छ । गत साउनमा आएको बाढीले मात्रै आयोजनामा रु १० करोडको क्षति भएको थियो ।
नौगाड गाउँपालिका–६ धुलिगडाको कुनेबगडदेखि फलामे पाइपमा पानी लगी सुकेखोलाको विद्युतगृहमा खसालिएको छ । पाइपलाइन (पेनस्टकको लम्बाइ पाँच किलोमिटर छ । विसं २०७३ असोजदेखि निर्माण शुरु गरिएको थियो ।
अपर नौगाडमा उत्पादन भएको बिजुली शैल्यशिखर नगरपालिका–१ शिखर बलाँचस्थित नेपाल विद्युत् प्राधिकरणको सवस्टेशनमार्फत राष्ट्रिय प्रसारणमा जोडिनेछ ।
विसं २०७२ भदौ २ देखि व्यावसायिक उत्पादन थालिएको नौगाड प्रथम जलविद्युत् आयोजना छोटो समयमै निर्माण सम्पन्न गरेको देशभरिकै नमूना योजना बनेको थियो । कोइरालाका अनुसार माथिल्लो नौगाड आयोजनाको बहुवित्तीय व्यवस्थापन नेपाल एसबिआइ बैंक लिमिटेडको अगुवाइमा प्रभु बैंक लिमिटेडसमेतको लगानीमा निर्माण भएको हो ।
यस्तै ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अगाडि बढेको छ । नेपाल विद्युत् प्राधिकरण र अपि पावर कम्पनी लिमिटेडबीच ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको विद्युत् खरीद–बिक्री सम्झौता (पिपिए) यसअघि नै भइसकेको छ ।
आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन तथा सरोकारवाला निकायसँग सार्वजनिक सुनुवाइ कार्यक्रम भइसकेको आयोजनाले जनाएको छ ।
प्रतिक्रिया