काठमाडौं – इँवा खोला आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । रैराङ डेभलपमेन्ट हाईड्रो पावर कम्पनी लिमिटेडले निर्माण गरेको इँवा खोला जलविद्युत् आयोजनाबाट उत्पादित १० मेगावाट क्षमताको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।
गएको साउनमा नै निर्माण सम्पन्न भएको आयोजनाबाट काबेली करिडोरअन्र्तगत पाँचथरको अमरपुरस्थित सवस्टेशनमार्फत असोजको शुरुबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजनाले जानकारी दिएको छ ।
निजी क्षेत्रको लगानीमा सम्पन्न भएको आयोजना २०७३ सालदेखि शुरु भएको थियो । दुई वर्षभित्रै अर्थात् २०७५ जेठमा सम्पन्न गर्ने लक्षका साथ आयोजनाको निर्माण शुरु भए पनि काबेली करिडोर निर्माणमा ढिलाइ भएकाले आयोजनाको अवधि बढेको बताइएको छ ।
१ अर्ब ६० करोडको लागतमा सम्पन्न गर्ने योजना भए पनि पहिरो लगायतका कारण १५ प्रतिशत लगानी बढेको बताइन्छ ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ मा पर्ने साब्लाखु र पाँचथरको याङ्वरक गाउँपालिकास्थित थर्पुको पुछारमा पर्ने काभ्रे दोभानमा हेडबक्स रहेको आयोजनाको विद्युतगृह भने थर्पुको दाहाल गाउँस्थित त्रिवेणीमा रहेको छ । आयोजनाको बाँधस्थलदेखि तीन किलोमिटर पाइपलाइनबाट विद्युत्गृहमा पानी परयाइएको छ ।
आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ र पाँचथरका स्थानीयको १० प्रतिशत लगानी रहेको उक्त आयोजनामा १५ प्रतिशत सर्वसाधारणको, २५ प्रतिशत रिडी हाइड्रो पावर कम्पनीको र ५० प्रतिशत भने सञ्चालक तथा संस्थापक सेयर धनीको लगानी छ ।
प्रतिक्रिया