बूढीगण्डकी डुबान क्षेत्रको तत्काल मुअब्जा निर्धारण गर्न नेकपाको माग

सोमबार, ०६ असोज २०७६, १६ : ५३

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोरखाले राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माण गर्न लागिएको  बूढीगण्डकी जलाशययुक्त आयोजनाको डुबान क्षेत्रमा पर्ने आरुघाट र खहरे क्षेत्रको मुअब्जा निर्धारण गर्न माग गरेको छ । 

पार्टी कार्यालय पाटेचौरमा आइतबार बसेको जिल्ला पार्टी सचिवालय बैठकले मुअब्जा निर्धारण गर्न बाँकी रहेका क्षेत्रको तत्काल मुअब्जा तोक्न माग गरेको पार्टीका जिल्ला अध्यक्ष लेखबहादुर थापाले जानकारी दिए । “डुबानमा पर्ने गोरखा र धादिङतर्फका बजार क्षेत्रको अझै मुअब्जा निर्धारण हुन सकेको छैन”, अध्यक्ष थापाले भने, “पार्टी सचिवालयको बैठकले नै छिटो मुअब्जा निर्धारणका लागि सरकारसँग माग गरेका छौँ ।” बैठकले लगत सङ्कलनको काम सकेको क्षेत्रमा घरगोठको बिरुवाको मुअब्जा निर्धारण गरी तत्काल वितरणको काम अघि बढाउन सरकारसँग आग्रह गरेको उहाँले बताए।

आरुघाट खहरे क्षेत्रको मुअब्जा निर्धारण हुन नसक्दा प्रभावित क्षेत्रका जनताको असन्तुष्टि बढ्दै गएको भन्दै उहाँले छिटोभन्दा छिटो उचित मुअब्जा निर्धारण हुनुपर्नेमा पार्टीको जोड रहेको बताउनुभयो । “त्यस क्षेत्रको अहिलको चलनचल्तीको मूल्य र सरकारी ऐन कानूनलाई टेकेर मुअब्जा निर्धारण गर्नु उचित हुन्छ”, उनले भने, “जनतालाई लामो समय अन्यौलमा राख्नु हुँदैन ।”

बैठकले जलस्रोत तथा ऊर्जा मन्त्रालय एवं मुअब्जा निर्धारण समिति आयोजना एकाइलाई मुअब्जा निर्धारण गरी आयोजना निर्माणको कामलाई अघि बढाउन आग्रह गरेको अध्यक्ष थापाको भनाइ छ । 

त्यस्तै बैठकले नेपालीको ठूला चाडपर्व नजिकिएकाले दशैँ, तिहार, छठ तथा इद लगायतका पर्वका अवसरमा यातायात सुविधा पु¥याउन सडक मर्मत तथा सुधार एवं सञ्चालन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । 
 

सोमबार, ०६ असोज २०७६, १६ : ५३

प्रतिक्रिया