कुलमानलाई लिएर किन जापान उडे ऊर्जा मन्त्री पुन

मंगलबार, ०७ असोज २०७६, ११ : १५

काठमाडौं– उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन जापान भ्रमणमा लागेका छन् । जापानी अन्र्ताष्ट्रिय सहयोग नियोग (जाइका) को निमन्त्रणामा मन्त्री पुन सोमबार राती २ बजे जापान उडेका हुन् ।

उर्जामन्त्री पुन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित सोमबार राति जापानको ओसाका जाने कार्यक्रम छ ।

जापान भ्रमणको क्रममा मन्त्री पुनले जापानको लिवरल डमोक्रेटिक पार्टीका महासचिव निकाई टोसिहिरो, जाइकाका उपाध्यक्ष हिरोसी कातो, जापानको कृषी तथा वन मामिलासम्बन्धी मन्त्री इटो योशिताका, जापानको परराष्ट्रमन्त्रालयका उच्च अधिकारीका साथै नेपाल–जापान पार्लियामेन्टिरियनस फ्रेण्डसिप लिगका अध्यक्षसहतिका पदाधिकारीसंग भेटवार्ता गर्ने कार्यक्रम छ ।

जापान भ्रमणको क्रममा नेपालको जलविद्युत क्षेत्रमाको सम्भावना र  लगानीबारे समेत जापानी लगानीकर्तासंग अन्र्तक्रिया गर्ने कार्यक्रम छ । कार्यक्रममा फुजी र कान्साईलगायतका विश्वप्रख्यात कम्पनीको समेत सहभागिता रहनेछ । त्यसका साथै जापानमा बसोवास गरिरहेका नेपाली समुदायसंग समेत समृद्ध नेपाल निर्माणमा उर्जाको महत्व र प्रवासी नेपालीको भूमिका बिषयक अन्र्तक्रिया कार्यक्रममा आफ्ना धारणा राख्ने कार्यक्रम रहेको मन्त्री पुनको सचिवालयले जनाएको छ ।

मन्त्री पुनले जाइकाका उपाध्यक्षसंगको भेटमा जाजरकोटमा रहेको ४१७ मेगावाटको नलसिंङगाड जलविद्युत परियोजनालाई अन्तिम टुंगो लगाउने विषयमा समेत छलफल गर्नुहुनेछ । नेकपाका नेता समेत रहेका मन्त्री पुनको भ्रमण उक्त परियोजनालाई अघि बढाउने विषयमा केन्द्रित हुनेछ ।

नलसिंङगाड परियोजना जाइकाले पिपिपी मोडेलमा अध्ययन गरिरहेको छ । उक्त परियोजनालाई अघि बढाउने विषयमा छलफल गर्न उर्जामन्त्री पुन जापान भ्रमणमा जान लाग्नुभएको मन्त्री पुनका स्वकिय सचिव दुर्गा चापांगाईले जानकारी दिए ।

मन्त्री पुनले यसअघि पनि जापानी राजदूत साइगोसंगको नलसिंङगाड जलविद्युत आयोजनालाई अघि बढाउने विषयमा छलफल गरेका थिए ।

 

 

 

 

 

 

 

मंगलबार, ०७ असोज २०७६, ११ : १५

प्रतिक्रिया