काठमाडौं – बंगलदेशले कम्तीमा २० वटा जलविद्युत् आयोजनामा लगानी गर्ने इच्छा देखाएको छ। मंगलबारदेखि सुरु भएको नेपाल बंगलादेश प्राविधिक समितिको बैठकमा उनीहरूले यस्तो इच्छा प्रकट गरेका हुन्।
‘बैठकमा कार्गो, खाद्य वस्तुलगायत हाइड्रो पावरसम्मको छलफल भयो, बैठकमा सहभागी एक नेपाली अधिकारीले भने,’ करिब २० हाइड्रो पावरमा लगानी गर्न इच्छा देखाएका छन् । ‘यस विषयमा ऊर्जा मन्त्रालयसँग थप छलफल गरेर अगाडि बढ्न सकिन्छ,’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सहसचिव एवं नेपाली प्रतिनिधिमण्डलका नेता नवराज ढकालले भने । यस सम्बन्धमा जलविद्युत सम्बन्धी सचिवस्तरीय समितिबाट टुंगो लगाउने सहमति भएको उनले जानकारी दिए । उनका अनुसार दुई मुलुकबीचको कागो ट्रान्जिटमा सहजता, मोटर भेइकलको सन्दर्भमा छलफल भएको छ ।
यसको अर्थ यात्रुवाहक सवारीहरू आतेजाते गर्ने व्यवस्था हो । सामग्री ढुवानीका क्रममा बिनाअवरोध सञ्चालनको व्यवस्था मिलाउने छलफल भएको छ। उनका अनुसार हाल पारवाहन सन्धिअनुसार नेपालको ट्रक भारतको बोडरसम्म जान्छ। तर, बंगलादेशको ट्रक बोर्डरसम्म जान पाउँदैन । त्यसमा बंगलादेशले सहजीकरण गर्नुपर्ने चासो राखेको छ ।
यीबाहेक विभिन्न पाँच वटा एमओयूमा पनि छलफल भएको सहसचिव ढकालले बताए । जसअन्तर्गत कृषि, खाद्य वस्तु तथा व्यापारसम्बन्धी छन्।
गैरभन्सार अवरोधको विषयमा ए छलफल भएको जनाएको छ। हाल अलैंची र धागो निर्यातको सम्भावना भए पनि निर्यात सुविधा छैन । ती उद्योग प्रवर्द्धन गर्ने विषयमा पनि छलफल भएको छ। धागो उत्पादक संघका अध्यक्ष पवन गोल्यानका अनुसार बंगलादेशमा पर्याप्त सम्भावना भए पनि निर्यात भएको छैन ।
बंगलादेशले काँकडभिट्टाबाट निर्यात गर्न रोक लगाएको छ। जसले गर्दा करिब १५ वर्षदेखि निर्यात हुन सकेको छैन ।
‘पोलिस्टर र सेन्थेटिकको माग उच्च छ’ अध्यक्ष गोल्यानले भने, ‘निर्यात गर्न पाएका छैनौं ।’ बंगलादेश निर्यात खुलेको एक वर्षमा ५ अर्बको निर्यात गर्न सकिने उनले बताए। ‘धागोको बजार छ । उत्पादन पनि पर्याप्त छ,’ गोल्यानले भने, ‘निर्यात अवरोध हटे नेपालको उत्पादन थप विस्तार हुन्छ । एक वर्षमै ५ अर्ब निर्यात गर्न सक्छौं ।’ छलफलका क्रममा बंगलादेशमा अभाव हुने कृषि सामग्री नेपालबाट पठाउने पनि सहमति भएको छ।
कान्तिपुर दैनिकबाट
प्रतिक्रिया