तिहारमा झिलीमिली पार्न नेपालकै बिजुली पर्याप्त ,भारतको विद्युत नचाहिने

४ बर्ष अगाडि

यो वर्षको तिहारमा नेपालमै उत्पादन भएको बिजुलीले देशभर झिलीमिली हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले यसपटक आन्तरिक उत्पादनको बिजुलीबाटै लक्षमीपूजाको दिन देशभर उज्यालो बनाउने भएको हो ।

प्राधिकरणले २०७३ सालको लक्ष्मीपुजादेखि विद्युत्भार कटौती (लोडसेडिङ्ग अन्त्य) गरेको थियो।  विद्युत चुहावट नियन्त्रण गरी दैनिक १८ घण्टासम्मको लोडसेडिङ्ग हटाएर लोडसेडिङ्गमुक्त बनाएपनि प्राधिरणलाई आलोचकहरुले भारतबाट महंगोमा खरिद गरेको बिजुली प्रयोग गरेको भन्दै आलोचना गर्ने गरेका छन् । 

तर कसैले नसोँचेको अबस्थामा लोडसेडिङ्ग अन्त्य गरेको प्राधिकरणले यसपटक पनि कसैले नसोचेको काम गर्न लागेको जनाएको छ । तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले कुलमान घिसिङलाई प्राधिकरणका कार्यकारी निर्देशक बनाएर निर्वाध रुपमा काम गर्ने वातावरण बनाइदिएपछि घिसिङले आफैं कार्यस्थलमा खटेर लोडसेडिङ हटाएका थिए ।

तत्कालिन अबस्थामा भारतबाट किनेर भएपनि नेपालीको माग पूरागर्नुपर्ने अबस्था भएपनि अहिले उत्पादन बढेको र चुहाबट समेत नियन्त्रण गरेर तिहारमा नेपालकै विजुलीले उज्यालो बनाउने अबस्था आएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए ।

यसैपनि अहिले प्राधिकरण र निजी क्षेत्रका सबै आयोजना पूर्ण क्षमतामा चल्ने भएकाले भारतबाट विद्युत् नगन्य मात्रामा मात्रै विद्युत् आयात हुन्छ,अधिकारीले भने तिहारमा भारतबाट आयात गरिएको बिजुली प्रयोग नगरी झिलीमिली बनाउने योजना छ ।

आन्तरिक विद्युतबाट नै दीपावलीलाई झकीझकाउ बनाउने गरी योजना तयार भएपछि प्राधिकरणका सबै वितरण केन्द्र,आयोजना तथा ग्रिडका कर्मचारीलाई समेत तम्तयारी अवस्थामा राखिएको छ ।

काठमाडौँ उपत्यकाको विद्युत् प्रणालीको अवस्था पहिचानका लागि कार्यकारी निर्देशक कुलमान घिसिङसहित प्रवक्ता अधिकारीको टोली परिचालित भएको छ ।

प्राधिकरणका उपकार्यकारी निर्देशक बज्रभूषण चौधरीको नेतृत्वमा अर्को टोली स्थलगत निरीक्षण तथा आवश्यक तयारीका लागि परिचालित छ ।

कुनै पनि घर अँध्यारोमा बस्नु नपरोस्,सबै घरमा बत्ती बलोस् भन्ने लक्ष्यका साथ सबै तयारी गरिएको प्राधिकरणको भनाइ छ ।

कति विजुली चाहिन्छ तिहारमा ? 

प्राधिकरणले लक्ष्मीपूजाको दिन देशभरको विद्युत् माग बढीमा एक हजार २०० मेगावाट पुग्ने प्रक्षेपण गरेको छ । भारप्रेषण केन्द्रले तय गरेको आँकडाअनुसार कूल एक हजार १९० मेगावाटदेखि एक हजार २०० मेगावाटको हाराहारीमा विद्युत् माग पुग्ने छ ।

तिहारको समयमा उद्योगधन्दा पनि बन्द हुने भएकाले घरायसी उपयोगका लागि मात्रै विद्युत् माग बढ्दा त्यसले खासै समस्या नपर्ने प्राधिकरणको बुझाइ छ , आन्तरिक रुपमा बढी भएको खण्डमा निर्यात गरिरहेको भन्दा बढी विद्युत् भारत निर्यात गर्न सक्ने अवस्थामा प्राधिकरण पुगेको छ । 

नेपालमा विद्युत उत्पादन कति हुन्छ ?

प्राधिकरणले आफ्ना आयोजनाबाट कूल नौ हजार १३५ मेगावाट प्रतिघण्टा विद्युत् उपलब्ध गराइरहेको छ । निजी क्षेत्रका आयोजनाबाट कूल १० हजार २१६ मेगावाट घण्टा विद्युत् उपलब्ध भइरहेको छ । यतिबेला मौसममा कुनै बदली नभएका कारण देशव्यापीरूपमा नै कहीँकतै पनि(‘ट्रिपिङ)को समस्या छैन । प्राधिकरणका अनुसार हाल प्रणालीमा कूल २१ हजार २७० मेगावाट घण्टा विद्युत् माग रहेको छ । 

प्राधिकरणले जगेडाका रुपमा कुलेखानीको तीनवटै आयोजना पनि राखेको छ । ती आयोजनाबाट कूल १०६ मेगावाट विद्युत् उत्पादन हुन्छ । कुलेखानी पहिलोबाट ६० मेगावाट,दोस्रोबाट ३२ मेगावाट र हालै सञ्चालनमा आएको कुलेखानी तेस्रोबाट १४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । ती आयोजना जलाशय प्रकृतिका भएका कारण पनि आवश्यक परेको समयमा मात्रै चलाउने गरी व्यवस्थापन गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए ।

हाल प्राधिकरणको प्रणालीमा एक हजार २५० मेगावाट विद्युत् उपलब्ध छ । यस वर्षको छ महीनामा मात्रै १५० मेगावाट विद्युत् थप भइसकेको छ । आन्तरिकरूपमा नै विद्युत् पर्याप्त भएकाले कुनै भवितव्य नहोस् भनेर मात्रै भारतबाट आयात हुने विद्युत् जोडिराखिएको प्राधिकरणको भनाइ छ । 

भारतबाट कति आउँछ ?

प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट हाल ५० मेगावाटको हाराहारीमा मात्रै विद्युत् आयात गरिरहेको छ । आयात भएका मध्ये ३० मेगावाट विद्युत् रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत बिहारतर्फ निर्यात गरिएको छ । बाँकी रहने २० मेगावाट विद्युत् मात्रै प्रणाली सुरक्षाका लागि उपलब्ध भइरहेको छ । कुलेखानी चलाउँदा उत्पादन हुने विद्युत् भारत नै निर्यात हुने गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया