द्वन्द्वपीडितलाई निःशुल्क मिटर

शुक्रबार, १५ कार्तिक २०७६, १४ : १९

नेपाल विद्युत् प्राधिकरणले जिल्लाका विभिन्न स्थानमा निःशुल्करुपमा मिटर वितरण गर्ने भएको छ । 

स्थानीय तह तथा वडाको सिफारिसका आधारमा अति गरीब, अपाङ्गता, एकल महिला, द्वन्द्वपीडितलाई विद्युत् मिटर निःशुल्करुपमा उपलब्ध गराउने नेपाल विद्युत् प्राधिकरण बैतडीका सुपरभाइजर माधवप्रसाद लेखकले बताए। 

विभिन्न वडा तथा स्थानीय तहले सिफारिस गरेका व्यक्तिको नामावली सङ्कलनको काम भइरहेको र क्षेत्रीय कार्यालयबाट मिटर आउनेबित्तिकै विद्युत् मिटर उपलब्ध गराउने उनले बताए । 

नयाँ विद्युतीकरण भएका ठाउँका नागरिकलाई विद्युत् मिटर निःशुल्करुपमा उपलब्ध गराउने सुपरभाइजर लेखकले बताउनुभयो । अहिलेसम्म दशरथचन्द नगरपालिका र पाटन नगरपालिकाबाट अति गरीब, अपाङ्गता, एकल महिला, द्वन्द्वपीडितको नाम सिफारिस भएर आएको लेखकले बताए ।
 
यसैबीच पाटन नगरपालिकाभित्रका ७५ जनाले निःशुल्करुपमा विद्युत् मिटर पाउने भएका छन् । नगरपालिकाभित्रका अति गरीब, अपाङ्गता, एकल महिला, द्वन्द्वपीडितलाई प्रत्येक वडामा विद्युत् मिटर वितरणको तयारी भएको पाटन नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिए । 

नगरपालिकाका एक वडाबाट सात जना र नगरपालिकाले सिफारिस गरेका पाँच जना गरी पाटन नगरपालिकाभरिका ७५ जनाले निःशुल्करुपमा विद्युत् मिटर पाउने भएका हुन् । विद्युत् प्राधिकरणको कार्यक्रमअनुसार वडा र नगरपालिकाले सिफारिस गरेका व्यक्तिको घरमा निःशुल्करुपमा विद्युत् मिटर वितरण गरिने नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ ।

शुक्रबार, १५ कार्तिक २०७६, १४ : १९

प्रतिक्रिया