काठमाडौं – नेपाल विद्युत् प्राधिकरणभित्र विद्युत् खरीद सम्झौता (पिपिए) गर्ने व्यक्तिका रुपमा परिचित थिए जगदिश्वरमान सिंह । पिपिए हाकिमका रुपमा समेत उनलाई चिनिन्थ्यो ।
उनले मात्रै करिब चार दर्जन बढी जलविद्युत् आयोजनाका प्रवद्र्धकसँग उक्त स्म्झौता गरेका छन् । प्राधिकरणको उपकार्यकारी निर्देशकका रुपमा रहेका सिंहलाई कार्यकारी निर्देशक कुलमान घिसिङले पिपिए गर्ने जिम्मेवारी नै दिएका थिए । प्राधिकरण र निजी ऊर्जा उद्यमीको सम्बन्धलाई जिवत्न राख्न महत्वपूर्ण भुमिका खेलेका सिंहले आजदेखि अवकाश पाएका छन् । करिब ३ दशक प्राधिकरणमा सेवा गरेका सिंहलाई कुलमानको महत्वपूर्ण सारथीको रुपमा समेत लिइन्थ्यो ।
प्राधिकरणका अर्का उपकार्यकारी निर्देशक शान्तिलक्ष्मी शाक्य पनि केही समय पहिले उमेर हदका कारण अवकाश पाएकी थिइन । प्राधिकरणका रहेर सुधारका काममा अवरोध गरेका र कुलमान प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त हुँदा सर्वोच्च अदालत गएर सरकारको निर्णय विरुद्ध लागेका सुनिल ढुंगेलको अवकाशमा प्राधिकरणका उत्साह छाएको थियो । तर शाक्य र सिंहको विदाईले भने प्राधिकरणको उच्च तहमा दक्ष कर्मचारीको अभाव हुने देखिएको छ ।
प्रतिक्रिया