पाँच वर्षयता परेन पानी, खडेरीले जंगलमा सिस्नुसमेत छैन

६ बर्ष अगाडि

 बाजुरा-हुम्ला ताँजाकोट गाउँपालिका–३ की मनसार रोकायासहितको एउटा टोली बाजुरा र हुम्लाको सिमानामा पर्ने कवाडी नदीको उकालोमा भेटिए । उनीहरू घरबाट तीन दिन हिँडेर बाजुराको दानसाँगु बजारबाट खाद्यान्न लिएर फर्कंदै थिए । राजधानी दैनिकमा खबर छ |

‘पाँच वर्ष भो पानी छैन, खेती लगाएर केही हुँदैन, पेट पाल्न बूढा भारत लगाएकी छु, पठाएको पैसाले यहाँ बालबच्चालाई हातमुख जोड्न चामल ल्याएँ,’ चामलको भारी बिसाउँदै मनसराले भनिन् ।

सोही गाउँका खड्के सार्कीलाई १३ जनाको परिवार पाल्न अझै कठिन छ । उनी पनि चार कट्टा (बोरा) चामल लिएर घर फर्कंदै थिए । ‘एक महिना पनि खानलाई पुग्दैन, रामबहादुर शाहीसँग ऋण मागेर चामल ल्याएँ, अब गाउँमा केही योजनामा काम गरेर ब्याजसहित तिर्नुपर्छ,’ उनले भने ।

प्रदेश ७ कोे बाजुरा र प्रदेश ६ को हुम्ला, मुगु र कालिकोटमा ४० वर्षपछि दोहोरिएको ठूलो खडेरीले नछोडेको पनि पाँच वर्ष बित्यो । खडेरीको पहिलो र दोस्रो वर्ष सरसापट गरेर हातमुख जोड्ने जोहो गरे ।


खडेरीले खेतबाट अन्न आउन छोडेपछि केही योजना गाउँमा आउला र काम गरेर त्यसको रकमले चामल किनेर खाउँला भन्ने योजना बनाउनुबाहेक अर्को विकल्प सेती र कर्णालीवासीमा छैन ।

खडेरीले बाजुराका स्वामीकार्तिक, हिमाली र जगन्नाथ गाउँपालिका अति प्रभावित छन् । यस क्षेत्रका जुकोट, साप्पाटा, वाई, गोत्री, जगन्नाथ, बाँधु, रुगिनलगायतका गाउँ बढी प्रभावित छन् ।

प्रदेश ६ को कर्णालीका कालिकोटका साथै मुगु र हुम्लामा पनि यो समस्याले सताएको छ । खडेरीले तत्कालीन वाई गाउँ विकास समितिमा यस वर्ष रोपाइँसमेत भएन । खडेरीले पानीका मुहान नै सुकेपछि स्थानीयले खेतमा राखेको बीउ नै सुक्यो । वाई–६ का ७६ वर्षीय रणबहादुर कठायत भन्छन्, ‘२०२२ सालमा परेको खडेरीमा पनि बाली लगाउन पाएका थियौं तर बाली नै लगाउन नपाउनेगरी यसै वर्ष खडेरी प¥यो ।’

घरमा भएको अनाज सकिएपछि खाद्यान्न जोहो गर्न दानसाँघुको हाटबजारमा भेटिएका स्वामीकार्तिक–२ सप्पाटाका बिभरभान सार्की खडेरीले बीउसमेत जोगाउन नसकेकाले परिवार पाल्न समस्या भएको गुनासो गर्छन् । ‘नौ जनाको परिवार छ तर एक दाना अनाज छैन,  दुई–चार किलो चामलका दाना लिएर छोराछोरीलाई खुवाउने योजना बनाएर बजार आएको हुँ ।’

अर्काको स्वामित्वको जग्गामा सामान्य खेती गर्दै आएका स्वामीकार्तिक–३ जुकोटका कृषानी चदारा खडेरीले बाली उब्जनी नभएपछि आठ जनाको परिवार कसरी पाल्ने भन्ने चिन्तामा छन् ।खडेरीले पानीको मुहानसमेत सुकेपछि जंगलको सिस्नोसमेत सुकेको उनी बताउँछन् ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया