काठमाडौं – लमजुङमा निर्माण हुने ४०.२७ मेगावाटको सुपर न्यादी जलविद्युत आयोजना आगामी तीन वर्षभित्र निर्माण सक्ने गरी हाई हिमालय–धवलागिरि कन्स्ट्रक्सन जेभीलाई जिम्मा दिइएको छ ।
आयोजना इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन–इपिसी आयोजना निर्माण गर्ने सम्झौता भएको प्रवद्र्धक कम्पनीका प्रमुख तथा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल इपानका अध्यक्ष शैलेन्द्र गुरागाईले जानकारी दिए ।
हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन प्राली र धवलागिरि कन्स्ट्रक्सन एन्ड डेभलपमेन्ट प्रालिले संयुक्तरूपमा आयोजना निर्माण गर्ने सहमति भएको छ ।
सम्झौता अनुसार निर्माण कम्पनीले ४२ महिनाभित्र आयोजनाको सम्पूर्ण पक्ष निर्माण गरेर हस्तान्तरण गर्नुपर्नेछ । कूल रु ७ अर्ब लागत अनुमान गरिएको आयोजनाको निर्माण पक्षका लागि रु ५ अर्ब ८० करोडमा सम्झौता भएको हो ।
आयोजनामा एनएमबी बैंकको अगुवाईमा ६ वित्तीय संस्थाले रु ५ अर्ब २५ करोड लगानी गरेका छन् । रु १ अर्ब ७५ करोड स्वपुँजी लगानी हुने छ ।
विसं २०७७ भित्र आयोजनाबाट विद्युत उत्पादन गर्ने लक्ष्य रहे पनि लगानी तथा निर्माण पक्ष व्यवस्थापनमा समय लागेकाले विद्युत उत्पादन अवधि लम्बिने जनाइएको छ ।
प्रतिक्रिया