ओलीलाई प्रधानमन्त्री बनाउने एमालेको निर्णय

६ बर्ष अगाडि

काठमाडौं–नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । 
बुधबार बसेको पार्टी स्थायी समितिको आकस्मिक बैठकले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको हो । संसदीय दलको नेताको रुपमा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय लिइएको पार्टीका नेता सुरेन्द्र पाण्डेले जानकारी दिए । 
निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम राष्ट्रपति समक्ष पेश गर्नेवित्तिकै ओली नेतृत्वको सरकार बनाउन दावी पेश गर्ने एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सहमति भएको छ । 
सोही सहमति अनुसार एमालेले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा एमाले र माओवादी केन्द्रको स्पष्ट बहुमत छ । 
दुवै पार्टीबीचको एकताको खाकालाई अन्तिम रुप पनि आजै दिने गरी आन्तरिक छलफल गरिएको छ । एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच संयुक्त नेतृत्व प्रणालीमा जाने गरी पाटी एकता गर्ने सहमति भईसकेको छ । 
सोही सहमतिलाई पार्टी एकता संयोजन समितिबाट अनुमोदन गराइने एमाले नेता पाण्डेले जानकारी दिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया