उपनिर्वाचन २०७६ : उम्मेदवार भट्टराई लामाचौरमा

सोमबार, ०९ मंसिर २०७६, १४ : ४३

आसन्न उपनिर्वाचनमा मत माग्न लामाचौर र बाटुलेचौरमा पुग्दा कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्वार विद्या भट्टराई अधिकारीलाई स्थानीयवासीले दिवंगत नेता रवीन्द्र अधिकारीको उत्तराधिकारीका रुपमा स्वागत गरेका छन् । 

यही मङ्सिर १४ को उपनिर्वाचन नजिकिँदै गर्दा घरदैलामा व्यस्त भट्टराईलाई स्थानीय मतदाताले सहयोग गर्ने आश्वासन दिएका छन् । उनले आज त्यहाँ पुग्दा लामाचौरवासीले फूल, माला र अबीर लगाएर स्वागत गरेका थिए । बाटुलेचौरबासीले  हरेक सङ्कटमा नेकपालाई जिताएर पठाएको बताउँदै अहिले अधिकारीले छाडेर गएको स्थितिमा विद्यालाई साथ दिने उद्घोष गरेका छन् ।

तल्लो द्वीपबाट शुरु भएको भट्टराईको घरदैलो सुन्दर फिड हुँदै लामाचौर र बाटुलेचौरमा कार्यक्रम तय भएको हो । घरदैलाका क्रममा उनीले आफू जितेपछि पनि जनताको घरदैलामा निरन्तर आउने र जनताको सेवक भएर काम गर्ने वाचा गरेकी थिन ।

उनले जनताको चाहना विकास भएकाले आफूले स्थानीयस्तरमा गर्नुपर्ने विकासका कामलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाइन । उनले लोकसंस्कृतिको भूमि मानिने बाटुलेचौरमा संस्कृतिको उत्कृष्ट गन्तव्य बनाउन सकिने धारणा राखीन । नेकपाले आज बाटुलेचौरमा चुनावीसभा आयोजना गर्दैछ । 

सोमबार, ०९ मंसिर २०७६, १४ : ४३

प्रतिक्रिया