नदीबाट बिजुली उत्पादन

मंगलबार, १० मंसिर २०७६, ११ : ३०

जुम्लाको पातारासी गाउँपालिका–४ लाम्रीगाउँमा बिजुली बल्न थालेको छ । स्थानीय जवा नदीमा साना जलविद्युत् आयोजना निर्माण भएपछि बिजुली बल्न थालेको हो ।  बिजुली र सिँचाइको व्यवस्था हुने गरी आयोजना निर्माण गरिएको छ । यसबाट ५८ किलोवाट विद्युत् उत्पादन भएको उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर बुढाले बताए । “एउटै नहरबाट बिजुली पनि बलेको छ, सिँचाइ पनि हुन्छ”, अध्यक्ष बुढाले भने ।

आयोजना आर्थिक वर्ष २०७१÷७२ देखि निर्माण शुरु भएको थियो । साढे दुई वर्षमा सक्ने लक्ष्य राखिए पनि बजेट अभावले ढिलाइ भएको अध्यक्ष बुढाले बताए। आयोजना कात्तिकमा निर्माण सम्पन्न भएको हो ।  आयोजनामा रु तीन करोड लाग्ने अनुमान गरिएको थियो । उपभोक्ता समितिले बजेट जुटाउनु परेकाले ढिलाइ भएको जनाएको छ । “उपभोक्ता समितिले बजेट जुटाउँदै काम गरेको छ”, अध्यक्ष बुढाले भने ।

 तत्कालीन डिल्लीचौर गाउँ विकास समितिको कर्णाली रोजगार कार्यक्रमअन्तर्गत रु २० लाखमा काम शुरु गरिएको थियो । त्यसपछि सांसद विकास कोषको रु ३० लाख, सूर्य सामाजिक सेवा सङ्घको रु २० लाख र  पातारासी गाउँपालिकाको रु ७५ लाख लागेको छ । सो आयोजनाबाट तिर्खु, लाम्री, डिल्लीचौर र जम्नगाउँमा बिजुली आपूर्ति हुनेछ । चारै गाउँका करीब ५०० परिवार लाभान्वित हुनेछन् ।

पाँच हजार रोपनीमा सिँचाइ    
विद्युत्सँगै  आयोजनाबाट सिँचाइ पनि हुने भएको छ । यसबाट पाँच हजार रोपनीमा सिँचाइ हुने उपभोक्ता समितिले जनाएको छ । सिँचाइ पनि हुने भएकाले तरकारी खेती गर्न सजिलो भएको स्थानीयवासी वीरबहादुर बोहराले बताए । “तरकारी उत्पादन गरेर स्थानीय बजारमा बिक्री गर्न सजिलो हुनेछ”, उनले भने । स्थानीय बासिन्दाले मार्सी धान रोप्ने गरे पनि  सिँचाइको सुविधा नहुँदा रोग लाग्ने र लगानीअनुसार उत्पादन हुने गरेको थिएन । अब खेतीपाती गर्न सजिलो हुने स्थानीय बासिन्दाको विश्वास छ । 

मंगलबार, १० मंसिर २०७६, ११ : ३०

प्रतिक्रिया