काठमाडौं – कुल रु २६ अर्ब २० करोड ५० लाख लागत अनुमान गरिएको १६० मेगावाट क्षमताको लाप्चे खोला जलविद्युत् आयोजना निर्माण शुरु हुने भएको छ । आयोजनामा विभिन्न बैंक तथा वित्तीय संस्थाले ७५ प्रतिशत लगानी गर्ने भएका छन् ।
दोलखामा आयोजना स्थल रहेको सो आयोजनाको वित्तीय व्यवस्थापनको करिब करिक टुंगो लागेको छ । प्राप्त जानकारी अनुसार नेपाल बैंकको नेतृत्वमा विभिन्न ५ बैंक तथा वित्तीय संस्थाले लगानी गर्न लागेका हुन् ।
सनराइज बैंकका अध्यक्षसमेत रहेका मोतीलाल दुगडको नासा हाइड्रोपावरले अमेरिकाबाट प्रत्यक्ष वैदेशिक लगानी ल्याउने समेत तयारी गरेको छ ।
निजी क्षेत्रले निर्माण गर्न लागेको सो आयोजना हालसम्मकै ठूलो आयोजना हो ।
आयोजनामा नेपाल बैंक, कर्मचारी सञ्चय कोष, नेपाल एसबिआइ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र राष्ट्रिय बाणिज्य बैंकले ऋण लगानी गर्ने टुंगो लागेको छ । यस्तै ग्लोबल आइएमइ बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पनि लगानी गर्ने सहमति जनाएका छन् ।
बैंंकहरुबाट रु १९ अर्ब ६५ करोड बराबरको ऋण लिने तयारी गरिएको छ । बाँकी रहेको ५ अर्ब रकम व्यवस्थापन गर्न बाँकी रहेको छ ।
परियोजनामा नेपाल बैंकको मात्रै रु ५ अर्ब ऋण लगानी हुनेछ । सम्झौता अनुसार पाँच संस्थाबाट रु १३ अर्ब ५० करोड लगानी हुने छ । नेपाल बैंकको रु ५ अर्ब, नेपाल इन्भेष्टमेन्टको रु ३ अर्ब ५० करोड, सञ्चय कोषको रु २ अर्ब, राष्ट्रिय बाणिज्य बैंकको रु २ अर्ब र नेपाल एसबिआइ बैंकको रु १ अर्ब ऋण लगानी हुनेछ । अन्य बैंकले पनि सोही आधारमा लगानी गर्ने बताएका छन् ।
प्रतिक्रिया