वाणिज्य बैंकका दुःख, पैसा अभाव टार्न विदेशबाट ऋण

५ बर्ष अगाडि

काठमाडौं- बैंकिङ प्रणालीमा तरलता (लगानीयोग्य पुँजी) अभाव भएपछि वाणिज्य बैंकहरूले विदेशबाट डलरमा ऋण ल्याउने प्रक्रिया सुरु गरेका छन् ।  लामो समयदेखि चुलिएको तरलताको समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकले विदेशबाट ऋण ल्याएर लगानी गर्न पाउनेगरी वाणिज्य बैंकलाई बाटो खोलिदिएपछि ऋण ल्याउने प्रक्रिया सुरु गरिएको हो ।
सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकमध्ये एनआईसी एसिया र एनएमबी बैंकले विदेशबाट ऋण ल्याउन राष्ट्र बैंकमा निवेदन दिइसकेका छन् ।  नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागका प्रमुख तथा कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले एनआईसी एसिया र एनएमबी बैंकले विदेशबाट ऋण ल्याउन राष्ट्र बैंकमा निवेदन दिएकोमा एनएमबी बैंकले भने स्वीकृति पाइसकेको छ ।


ढुंगानाले अधिकांश बैंकले विदेशबाट ऋण ल्याउने इच्छा देखाएको बताउँदै निवेदन आउने क्रम जारी रहेको बताए । राष्ट्र बैंकले प्राथमिक पुँजी (कोर क्यापिटल) को २५ प्रतिशतसम्म परिवत्र्य मुद्रामा ऋण लिन पाउने व्यवस्था गरेको छ । त्यसका साथै भारतीय मुद्रामा पनि प्राथमिक पुँजीको २५ प्रतिशतसम्म ऋण ल्याउन पाउने व्यवस्था छ ।
राष्ट्र बैंकका अनुसार प्रत्येक बैंकले २ अर्ब रुपैयाँसम्म विदेशबाट ऋण ल्याउन सक्छन् । साथै, सो ऋण कम ब्याजदरमा ल्याएर बढी ब्याजदरमा लगानी गर्न पाउने व्यवस्था छ । बैंकहरूले त्यसरी ल्याएको ऋण राष्ट्र बैंकले तोकेको क्षेत्रमा मात्रै लगानी गर्नुपर्ने व्यवस्था छ ।
राष्ट्र बैंकका अनुसार त्यस्तो ऋण जलविद्युत् उत्पादन तथा प्रसारण लाइन, सडक, सुरुङमार्ग, विमानस्थल, केबुलकार, पर्यटन, कृषि र लघुवित्त क्षेत्रमा लगानी गर्न पाइनेछ । यस्तो ऋणको न्यूनतम् अवधि एक वर्ष र अधिकतम अवधि पाँच वर्षसम्मको हुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले स्वीकृति दिएमा त्यस्तो कर्जाको नवीकरण गर्न सकिने व्यवस्था छ । अाजकाे राजधानी दैनिकमा खबर छापिएकाे छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया