काठमाडौं । देशभर चिसो बढेका कारण विद्युत् माग ह्वात्तै बढ्दा काठमाडौ. उपत्यका लगायत प्रमुख शहरी क्षेत्रमा विद्युत् व्यवस्थापन गर्न नेपाल विद्युत् प्राधिकरणलाई समस्या देखिएको छ ।
काठमाडौं उपत्यकामा मात्रै गत लक्षमीपूजाको दिनको तुलनामा करिब १३० मेगावाट विद्युत् थप माग बढेको छ । गत लक्षमीपूजाको दिन करिब २८० मेगावाट बराबर विद्युत् माग थियो । सो माग बढेर हाल ४१० मेगावाट पुगेको छ ।
निरन्तर विद्युत् माग बढ्दै गएको छ, प्राधिरकणको भार प्रेषण केन्द्रले जनाएको छ । उसले भनेको छ जाडोको समयमा हिटर तथा कोठा तातो बनाउने उपकरणको अत्याधिक प्रयोग बढेको छ । जसका कारण विद्युत् माग अप्रत्यासित रुपमा बढेको छ ।
देशव्यापी रुपमा विद्युत् माग बढेर १ हजार ३५२ मेगावाट पुगेको छ । विद्युत् माग बढ्नु सकारात्मक भएपनि प्राधिकरणको कमजोर प्रसारण प्रणालीले विद्युत् उपलब्ध गराउन समस्या पैदा भएको छ । जाडोको समयमा दैनिक नै दर्जन बढी पटक विद्युत् लाइन काटिएको सूचना आएको छ । मर्मतका लागि जनशक्ति परिचालित भएपनि एकै वितरण केन्द्रका धेरै स्थानमा समस्या आउने गरेको छ ।
समस्या समाधानका लागि प्राधिरकणको जनशक्ति नियमित परिचालन भएपनि विद्युत् माग बढ्दा त्यसलाई व्यवस्थापन गर्न प्राधिकरणलाई हम्मे हम्मे परेको छ । राजधानीमा मात्रै सोच भन्दा बढी विद्युत् माग भएको छ ।
प्राधिकरणले अनौपचारिक रुपमा विद्युत् खपत बढाउन गरेको आग्रहले ग्राहकलाई सकारात्मक प्रभव परेको हुन सक्ने देखिएको छ ।
प्रतिक्रिया