झापामा फोहरबाट ऊर्जा निकाल्ने

शुक्रबार, १० माघ २०७६, १७ : २९

झापा जिल्लाको दमक नगरपालिकामा फोहरबाट ऊर्जा परियोजना निर्माणको लागि सम्झौता सम्पन्न भएको छ ।

परियोजना निर्माणको लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, दमक नगरपालिका तथा परियोजना निर्माणकर्ता कम्पनी नेक्स्ट एरा इनर्जी प्रालि तथा रोहन ट्रेडर्स जेभी बीच आज यहाँ त्रिपक्षीय सम्झौता भएको हो । 

सम्झौतामा केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारी, नगर प्रमुख रोमनाथ ओली तथा आयोजना निर्माणकर्ता कम्पनीका अध्यक्ष युवराज घिमिरेले हस्ताक्षर गरेका छन । 

कूल ४० टन क्षमताको परियोजनाबाट दैनिक १०८४ केजी ९करीब ११० सिलिण्डर० प्रशोधित बायोग्यास तथा १० मेट्रिक टन जैविक मल उत्पादन गरिनेछ । परियोजना कूल लागत रु १४ करोड ७० लाख ६९ हजार ७ सय ५७ रहेको छ । 

विश्व बैंकसमेतको सहयोगमा केन्द्रद्वारा सञ्चालित नवीकरणीय ऊर्जा विस्तार कार्यक्रमअन्तर्गत कार्यान्वयन हुने परियोजनाको कूल लागतको ४० प्रतिशत ९रु पाँच करोड ८८ लाख० अनुदान केन्द्रले प्रदान गर्नेछ भने बाँकी ६० प्रतिशत लगानी परियोजना निर्माणकर्ताले गर्नेछ । 

डिजाइन, निर्माण, लगानी, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण ढाँचामा निर्माण हुने उक्त परियोजना अवधि २० वर्षको हुने र त्यसपछि नगरपालिकालाई हस्तान्तरण गरिने छ । 

परियोजनाको लागि आवश्यक जग्गाको व्यवस्था दमक नगरपालिकाले गरेको छ । परियोजनाको लागि आवश्यक कच्चा पदार्थको रुपमा नगरपालिकाबाट सङ्कलन हुने कुहिने फोहर तथा अन्य व्यावसायिक प्रतिष्ठानहरुबाट उत्पादन हुने जैविक फोहर समेत उपयोग गरिने छ । 

कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक अधिकारीले फोहरबाट ऊर्जा उत्पादनमार्फत फोहरको दीर्घकालीन समाधानमा सघाउ पुग्ने बताउँदै डिजाइन अनुसारको परियोजना निर्धारित समयावधिभित्र सम्पन्न हुने विश्वास व्यक्त गरेका छन । 

नगरप्रमुख ओलीले परियोजनाबाट नगर सफा हुनुको साथै नकुहिने फोहरको समेत उचित व्यवस्थापन हुने बताए । परियोजना निर्माण कम्पनीका अध्यक्ष घिमिरेले नगरपालिकाको फोहरको समस्या हटाउन परियोजनामा लगानी गर्न लागिएको र निर्धारित समयमै निर्माण सम्पन्न गर्ने विश्वास दिलाए । 
 

शुक्रबार, १० माघ २०७६, १७ : २९

प्रतिक्रिया