दाङ।केही समय यता घोराहीको मेनरोड सडक उज्यालो हुन थालेको छ ।
सडकका पोलमा बत्ती जडान गरेपछि सडक नै उज्यालो हुने गरेको छ । घोराही बजारलाई उज्यालो शहर बनाउने अभियान अन्र्तगत सडकमा बत्ती जडान गर्न थालिएको छ । घोराहीका मुख्य सडकहरुमा बत्ती जडान सुरु गरिएको हो ।
पहिलो चरणमा घोराहीको तुल्सीपुर चोकदेखि कटुवा खोलासम्म पोल गाडेर बत्ती जडान गरिएको छ । अहिले यस स्थानको काम समेत सम्मपन्न भइ सकेको बताइएको छ ।
दाङको घोराही बजारका तीन स्थानमा विद्युतीय सडक बत्ती जडान सुरु गरिएको नगरपालिकाले जनाएको छ । एपेक्स नेपाल प्रालि र घोराही उपमहानगरपालिकाबीच सम्झौता गरी बत्ती जडान गर्ने सुरु गरिएको हो ।
घोराही बजारका तीन स्थानमा बत्ती जडान गरिने भएको छ । पहिलो चरण अन्तर्गत ७१ वटा विद्युतीय पोल जडान गरेर बत्ती जडान गरी सकिएको एपेक्स नेपालका प्राविधिक प्रमुख अनन्त न्यौपानेले जानकारी दिए ।
बजारका अन्य स्थानमा अर्को चरणमा काम गरिने उनले बताए । घोराही उपमहानगरपालिकाले घोराही बजारको कुटवाखोलादेखि रतनपुर चोक, नेपाल बैंक लिमिटेडदेखि शहीद गेट र तुलसीपुर चोकदेखि दामोदर चोकसम्मको सडकमा बत्ती जडान गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ ।
सडकमा बत्ती जडानसँगै पोलमा विज्ञापन सामग्री राख्ने गरी घोराही उपमहानगरपालिका र एपेक्स नेपालबीच सम्झौता भएको छ । बत्ती जडानमा लाग्ने सबै खर्च प्रालिले नै व्यहोरने न्यौपानेले बताए । “नगरपालिकाको शुन्य लगानीमा यस प्रकारको कार्य अगाडि वढाइएको छ ।” न्यौपानेले भने ।
मानिसको बस्ती बाक्लो भएका अन्य स्थानमा पनि बत्ती जडान गर्ने सकिने उनले बताए । प्रालिले पोलमा राखिने विज्ञापनबाट लगानी उठाउने जनाएको छ भने नगरसभाले निर्णय गरेअनुसार नगरपालिकालाई कर समेत तिर्ने बताइएको छ ।
प्रालि र नगरपालिकाबीच १५ वर्षका लागि सम्झौता भएको हो ।सडक बत्तीसँगै प्रालिले २ वटा ट्राफिक आइल्याण्ड र ३ स्थानमा यात्रु प्रतीक्षालय निर्माण गरिसकेको न्यौपानेले बताए ।
बाँकी सडक विस्तार भएसँगै गरिने उनको भनाइ छ । विद्युतीय सडक पोल बत्तीसहित यात्रु प्रतीक्षालय र ट्राफिक आइल्याण्ड निर्माण तथा जडान गर्ने सम्झौता भएको नगरपालिकाले जनाएको छ ।
एपेक्स नेपालले करिव ३ करोडको लगानीमा विज्ञापन सामग्री राख्ने गरी विद्युतीय सडक बत्ती, यात्रु प्रतिक्षालय र ट्राफिक आइल्याण्ड निर्माण मा खर्च हुने जनाएको छ । कम्पनीले सम्झौता अनुसार घोराहीको विभिन्न स्थानमा यात्रु प्रतीक्षालय र पाँच ठाउँमा ट्राफिक आइल्याण्ड निर्माण गर्ने नगरपालिकाले जनाएको छ ।
घोराहीको दामोदर चोक, तुलसीपुर चोक, शहीद गेट, विपी चोक र ट्राफिक चोकमा ट्राफिक आइल्याण्ड निर्माण गरिने भएको छ ।
त्यस्तै घोराहीको बसपार्क, तुलसीपुर चोक, विद्युत् प्राधिकरण, डिभिजन सडक कार्यालय, ट्राफिक चोक, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, भरतपुर हाइट र जिल्ला जनस्वास्थ्य कार्यालयका विभिन्न स्थान नजिकै यात्रु प्रतीक्षालय निर्माण गर्ने भएको हो । जडान गरिएका सडक बत्ती तथा अन्य सामग्रीहरुको सबै सुरक्षा प्रालिले नै गर्ने उप–महानगरपालिकाका बावुराम पन्थीले जानकारी दिए ।कारोबार दैनिक
प्रतिक्रिया