होमस्टेबीच मितेरी साइनो

मंगलबार, २१ माघ २०७६, १४ : ४४

घरबास (होमस्टे)को औपचारिक शुरुआत भएको गण्डकी प्रदेशका गाउँलाई पर्यटन बजारमा पु¥याउने लक्ष्यका साथ हाल विभिन्न गाउँमा घरबास कार्यक्रम सञ्चालनमा आइसकेको छ । घरबास पर्यटनका शुरुआतकर्ता स्व क्याप्टेन रूद्रमान गुरुङले यही प्रदेशस्थित स्याङ्जाको शिरुबारीबाट शुरु गर्नुभएको घरबास पछिल्ला वर्षमा गण्डकी प्रदेशमा झण्डै ३०० को हाराहारीमा पुगेको छ ।

गण्डकी प्रदेशमा मात्रै हालसम्म २७४ होमस्टे दर्ता भइसकेको गाउँ पर्यटन प्रवद्र्धन मञ्च ९भिटोफ० गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले जानकारी दिए। शिरुबारीसहित लम्जुङको घलेगाउँ, गोर्खाको वारपाक, तनहुँको बन्दीपुर, कास्कीको ताङतिङ, पर्वतको चित्रे ९पञ्चासे क्षेत्र०, भुकदेउराली जस्ता सयौँ ठाउँमा सञ्चालित घरबास यतिखेर पर्यटकको आकर्षण बनेका छन् । “गण्डकी प्रदेशमा सञ्चालित घरबास प्रकृति र संस्कृतिमा मात्र नभई गाउँगाउँबाट देखिने हिमाल, गुफा, तालतलैया, धार्मिक एवं ऐतिहासिकस्थल, राष्ट्रिय निकुञ्ज आदिले महत्वपूर्ण बनेका छन्”, उनले भने।

भ्रमण वर्ष सञ्चालनको शुरुआतीमा नै घरबास पर्यटनको विकासलाई लक्षित गरी गण्डकीका दुईवटा होमस्टेको प्रदेश नं ५ का दुईवटा होस्टेसँग मितेरी साइनो जोड्न लागिएको अधिकारीले बताए। उनका अनुसार यही माघ २३ देखि २५ गतेसम्म गण्डकीअन्तर्गत कास्कीको ताङतिङ सामुदायिक होमस्टेसँग प्रदेश नं ५ अन्तर्गत गोविन्दपुर सामुदायिक होमस्टे, बर्दियासँग मितेरी साइनो गाँस्न लागिएको छ । त्यस्तै पर्वतको भुकदेउराली नमूना सामुदायिक होमस्टेसँग बर्दियाको खाता जैविक मार्ग होमस्टेसँग मितेरी साइनो गाँस्न लागिएको उनले जानकारी दिए।

भिटोफ गण्डकी प्रदेशले ‘जाऊँ है घुम्नलाई मितेरी जोडेर शुरु गरौँ भ्रमण वर्षलाई’ भन्ने नाराका साथ भ्रमण वर्षका अवसरमा विभिन्न होमस्टेबीच मितेरी साइनो बढाउँदै एकापसमा पर्यटक आदानप्रदान गराउने सोच अघि बढाएको छ । भ्रमण वर्षकै शुभारम्भमा गोविन्दपुर सामुदायिक होमस्टेसँग मितेरी साइनो जोड्न लागिएको कास्कीको ताङतिङ सामुदायिक होमस्टे गुरुङ संस्कार संस्कृतिको जीवन्त सङ्ग्रहालय जस्तै हो । मादी गाउँपालिका–२ ताङतिङमा २०७५ साल पुसदेखि यहाँका १४ वटा घरमा सञ्चालित होमस्टेमा पर्यटकका लागि २७ कोठा र ६५ श्ययाको व्यवस्था छ ।

गुरुङ संस्कृतिको प्रत्यक्ष अनुभूति गर्न सकिने यो होमस्टेबाट अन्नपूर्ण हिमशृङ्खलासहित आसपास रहेका परम्परागत पानी घट्ट, ऋषिधो डाँडा, कोरी डाँडा, ताराहिल दृश्यावलोकन केन्द्र महभिर, क्हफुचे हिमताललगायत धेरै पर्यटकीय आकर्षण हुन् ।

ताङतिङसँग मितेरी साइनो जोड्न लागिएको बर्दियाको गोविन्दपुर थारू संस्कार र संस्कृतिको प्रत्यक्ष अवलोकन एवं अनुभव गर्न पाइने ठाउँ हो । यहाँका १२ वटा घरमा सञ्चालित घरबासमा स्थानीय प्राङ्गारिक उत्पादनको स्वाद लिनाका साथै थारू संस्कृतिका विविध पक्ष अवलोकन गर्न पाइन्छ । विसं २०७५ वैशाखदेखि सञ्चालनमा आएको यो होमस्टे क्षेत्रको दान तालदेखि निशानगाडा भारतसम्म पुरानो रेल हिँडेको बाटोमा पाटे बाघ, गैँडा एवं बथानसहितका हात्ती हिँडेको प्रत्यक्ष अवलोकन गर्न सकिन्छ ।

भ्रमण वर्षको शुरुआतमा बर्दियाको खाता जैविक मार्ग सामुदायिक होमस्टेसँग मितेरी गाँस्न लागिएको अर्को होमस्टे पर्वतको भुकदेउराली नमूना गाउँ सामुदायिक होमस्टे हो । पर्वतको मोदी गाउँपालिका–१ मा पर्ने २०७५ सालदेखि सञ्चालनमा आएको यो होमस्टे प्रकृति एवं संस्कृतिले सम्पन्न छ । यहाँ रहेका ऐतिहासिक नेखोल बराह, भवरकोट मन्दिर आदिले धार्मिक पर्यटनको सम्भावना बढाएको छ भने यहाँबाट माछापुच्छ«े, अन्नपूर्णलगायत हिमाली दृश्य एकसाथ अवलोकन गर्न सकिन्छ । यही गाउँ भएर घोरेपानी तथा पुनहिलसम्म पदयात्री पर्यटक जाने भएकाले पनि यसको महत्व अझै बढेको छ ।

भुकदेउरालीसँग मितेरी गाँस्न लागेको बर्दियाको खाता जैविक मार्ग सामुदायिक होमस्टे थारू संस्कृतिका विविधताले सम्पन्न छ । स्थानीय  प्राङ्गारिक उत्पादन खान पाइने यो होमस्टे वरपर सालको घना जङ्गल छ । घना जङ्गलका कारण पाटे बाघ, गैँडा तथा बथानसहितका हात्ती देख्न पाइने भएकाले यसको छुट्टै महत्व छ । विसं २०६५ फागुनबाट सञ्चालनमा आएको यो होमस्टेमा थारू संस्कृतिमा आधारित झुमरा नाच, मझिरा नाच, छाट्करा एवं लाठी नाच आदि अवलोकन गर्न पाइन्छ ।

विभिन्न होमस्टेबीच मितेरी साइनो गाँस्दै पर्यटकको आदानप्रदान एवं आतिथ्यता, स्वागत–सत्कार आदिमा एकअर्काका अनुभव आदानप्रदान हुने विश्वास लिइएको भिटोफ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तारानाथ पहारीले बताए। गण्डकी प्रदेश गाउँ पर्यटनमा धेरै सम्भावना बोकेको स्थल भएको बताउँदै उनले सम्भावनायुक्त स्थानमा होमस्टे स्थापना गर्दै यसका माध्यमबाट स्थानीयवासीको आयआर्जनमा समेत योगदान पुग्दै आएको उनको भनाइ छ । ताङतिङ, भुकदेउराली जस्ता स्थानमा सञ्चालित होमस्टेसँग तराई क्षेत्रको बर्दियाका होमस्टेसँग मितेरी साइनो गाँसेसँगै यसले एकापसमा रहनसहन, वेशभूषा, कलासंस्कृति जान्न र बुझ्नसमेत टेवा पुग्ने विश्वास लिइएको पहारीको भनाइ छ । 

मितेरी साइनोले एकअर्काको संस्कृति आदानप्रदान गर्न पनि योगदान पुग्ने भिटोफ गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष रवीन्द्रराज पौडेल बताउछन्। “भ्रमण वर्षको शुभारम्भमा नै गण्डकी प्रदेशका गुरुङ संस्कृतिले सम्पन्न ताङतिङ र भुकदेउराली होमस्टेलाई प्रदेश नं ५ बर्दियाका थारू संस्कृतिले सम्पन्न खाता जैविक र गोविन्दपुर होमस्टेसँग मितेरी साइनो गाँस्न लागेकाले यसले सांस्कृतिक आदानप्रदानमा पनि ठूलै योगदान पुग्ने विश्वास लिएका छौँ”,  उनले भने।
 

मंगलबार, २१ माघ २०७६, १४ : ४४

प्रतिक्रिया