काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेपको औसत ब्याजदर निरन्तर घट्दो क्रममा छ।
केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार चैत मसान्तसम्म बैंकहरूले निक्षेपमा दिँदै आएको औसत ब्याजदर ४.४५ प्रतिशतमा झरेको छ। यो दर चालु आर्थिक वर्षको फागुनमा ४.५४ प्रतिशत, माघमा ४.६२ प्रतिशत, पुसमा ४.७५ प्रतिशत र मंसिरमा ४.७८ प्रतिशत रहेको थियो। त्यस्तै, कात्तिकमा ५.०१ प्रतिशत, असोजमा ५.२४ प्रतिशत, भदौमा ५.४८ प्रतिशत र साउनमा ५.६६ प्रतिशत रहेको देखिन्छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म देशभरका बैंक तथा वित्तीय संस्थामा कुल ५९ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन भएको छ।
कुन खातामा संकलन र ब्याजदर कति?
बचत खातामा
निक्षेपमध्ये सबैभन्दा बढी रकम बचत खातामा संकलन भएको छ, जसको कुल रकम २१ खर्ब ६८ अर्ब ९३ करोड रुपैयाँ छ। बैंकहरूले यस्ता खातामा औसत ३.३९ प्रतिशत ब्याज दिइरहेका छन्।
मुद्दती खातामा
मुद्दती खातामा जम्मा २९ खर्ब ९८ अर्ब २९ करोड रुपैयाँ रहेको छ। यो खातामा औसत ब्याजदर ६.१० प्रतिशत रहेको छ। बैंकहरुले मुद्दती खातामा फरक–फरक अवधि अनुसार फरक ब्याज दिने गरेका छन् ।
तीन महिनादेखि ६ महिनाभन्दा कम अवधिका खातामा औसत ब्याज ४.२८ प्रतिशत ब्याज रहेको छ । यस्तै ६ महिनादेखि एक वर्षभन्दा कम अवधिका खातामा ४. ६८ प्रतिशत र एक वर्षदेखि दुई वर्षभन्दा कम अवधिमा ५.७८ प्रतिशत ब्याज दिएका छन् । दुई वर्ष वा सोभन्दा बढी अवधिका खातामा उच्चतम ९.७२ प्रतिशत ब्याजदर दिइएको छ।
कल डिपोजिटमा
संस्थागत ग्राहकहरूको लागि प्रयोग हुने कल डिपोजिट खातामा ४ खर्ब २ अर्ब ८१ करोड रुपैयाँ रहेको छ, जसमा औसत ब्याजदर १.२३ प्रतिशत मात्र छ। त्यस्तै, ब्याज दिने तर अन्य खाताको रूपमा राखिएको निक्षेप १ अर्ब ८६ करोड रुपैयाँ छ, जसमा २.३४ प्रतिशत ब्याज प्रदान गरिएको छ।
राष्ट्र बैंकको तथ्यांक अनुसार नन–इन्ट्रेस्ट बियरिङ अकाउन्ट, चल्ती खाता, मार्जिन खाता, र अन्य ब्याज नपाइने खाताहरूमा ७ खर्ब ८५ अर्ब रुपैयाँ निक्षेप रहेको छ, जसले कुल निक्षेपको झन्डै १३ प्रतिशत हिस्सा ओगटेको छ।
प्रतिक्रिया