२८ बर्ष बित्यो, तर अघि बढेन पश्चिम सेती आयोजना

विहीबार, २३ माघ २०७६, १० : ५४

काठमाडौं – बहुप्रतिक्षित ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजना निर्माणमा अलमल भएको भन्दै सुदुरपश्चिमका सांसदहरुले एकढिक्का भई तत्काल काम अगाडि बढाउन दबाब दिनुपर्नेमा जोड दिएका छन् । आज बोलन्या थली धनगढीले रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको अन्र्तक्रियामा सुदुरपश्चिमबाट प्रतिनिधित्व गर्ने सांसदहरुले २८ वर्षयता आयोजना अलपत्र परेकोमा गम्भीर ध्यानाकर्षण गराएका छन् । सांसदहरुले २८ वर्ष पूर्व सुरु हुन लागेको पश्चिम सेती परियोजना किन बन्न नसकेको भनी प्रश्न समेत उठाए । 
नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटि सदस्य भीम रावलले बहुमतको सरकार आएकाले पश्चिम सेती परियोजना निर्माण अगाडि बढाउन सक्ने बताए । उनले नेपालमा विभिन्न समयमा सरकार परिवर्तन भई राजनीतिक अस्थिरताका कारणले परियोजनाले पूर्णता पाएन । अहिलेको सरकार दुई तिहाईको सरकार हो भएकाले परियोजना कार्यान्वयन गर्न सक्छ । लामो समयदेखि निर्माण गर्न थुप्रै सरकारले पहल गरेपनि कार्यान्वयनमा ल्याउन नसकेको भन्दै आलोचना गरे । विदेशी कम्पनीहरुलाई पहल गर्दा पनि पूँजी व्यवस्थापन गर्न नसक्दा कम्पनीहरुले छाडेको बताए । परियोजना निर्माण हुनुपर्छ भन्नेमा सुदुरपश्चिमबाट प्रतिनिधित्व गरिरहेको सांसदहरुको एउटै मत रहेको समेत बताए । 
माधवकुमार नेपाल नेतृत्वको सरकार हुँदा यस परियोजनाको विषयमा चीनसँग सम्झौता भएको उल्लेख गरे ।उनले  भने,सरकार केही दिन पछि ढल्यो र सो परियोजनाको काम रोकियो । पश्चिम सेतीबारे सरकारलाई गम्भीर हुन आग्रह गरे । विकासका लागि सरकार एकजुट हुनपर्ने आग्रह गरेका छन् । 
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद दिलेन्द्र प्रसाद बडुले सुदुरपश्चिमलाई सधै अपहेलित गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे । २८ वर्ष अगाडी शुरु भएको परियोजना अहिलेसम्म किन बन्न सकेको छैन् भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘२८ वर्षसम्म किन परियोजना अगाडि बढ्न सकेन ?’
विकासका लागि सुदुरपश्चिमेली एकजुट हुने उनको भनाई थियो । दुईवटा बजेट ल्याई सकेको वर्तमान सरकारले अर्को बजेट भाषणमा उक्त परियोजनाको बजेट छुट्याउनु पर्नेमा जोड दिए । रेल र पानी जहाज ल्याउन लागेको सरकारले केन्द्रलाई मात्र ध्यान दिएको बताए। रेल र पानी जहाजको बजेटले १० आठवटा परियोजना बन्न सक्ने बताए । दुई पक्षीय वार्ता नभएको कारण चिनियाँ कम्पनी यस परियोजनाबाट हटेको गुनासो समेत गरे । सो परियोजनाको बजेट सरकारलाई छुट्याउन आवश्यक रहेका बताए । सो परियोजना राष्ट्रिको हितमा रहेको जनाए । परियोजनाले देशमा रोजगारी सिर्जना गर्ने र युवाहरु विदेश पलायन हुनबाट जोगिने समेत बताए । 
डोटीका नेकपा सांसद प्रेम आलेले सरकारमा रहेकाहरु पश्चिम सेती अगाडि बढाउन गम्भीर नभएको आरोप लगाए । उनले भने, सरकारमा रहुञ्जेल पश्चिम सेतीबारे चुप लाग्ने र हटेपछि बोल्ने प्रवृत्ति छ । सत्तामा पुगेकाहरु पश्चिम सेती अघि बढाउनेबारे गम्भिर नभएको आरोप लगाए । सन् १९५७ मा अष्ट्रेलियन कम्पनी र सन् २०१२ मा चिनियाँ कम्पनीहरु काम गर्न खोज्दा बजेटको छिनोफानो नभएको कारण दुवै कम्पनीहरुलाई निर्माण गर्न रोक लगाइएका बताए । २८ वर्षमा थुप्रै सरकार बने पनि निर्माणका लागि गम्भीरतापूर्वक पहल नगरेको उनको भनाई थियो । पश्चिम सेती वर्तमान सरकारको पालामा काम हुने उनको भनाई थियो । उनले भने,पहिल्यै तयार भएको डिपीआरलाई करेक्सन गरेर काम गर्ने प्रतिबद्वता व्यक्त भइसकेको छ । 
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद बद्री पाण्डेल पश्चिम सेती परियोजना घर न घाट को भएको बताए । उनले भने, सरकारले परियोजनालाई उच्च प्राथमीकतामा राख्नुपर्छ । परियोजना प्रति राज्यले ध्यान नदिंदा अलपत्र परेका बताए । 
राष्ट्रिसभाका सांसद चक्र प्रसाद स्नेहीले पश्चिम सेती परियोजना दिन प्रति दिन सेलाइरहेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले परियेजनालाई सफल पार्न सुदुपश्चिमवासीहरुले आफ्नो गाँस काटेर समेत यस परियोजनामा सेयर हाल्ने बताएका छन् । सो परियोजनाले निरन्तरता पाओस् भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
राष्ट्रिय सभाको दीगो विकास समीतीकी सभापती तारा देवी भट्टले सो परियोजना जतिसक्दो छिटो अगाडि बढ्नुपर्नेमा जोड दिइन् । परियोजनालाई प्रतिनिधिसभा र राष्ट्रियसभामा छलफल गरेर अगाडि बढाउने बताइन् । 
कार्यक्रम आयोजक बोलन्या थली धनगढीका संयोजक यादव जोशीले पश्चिम सेती परियोजनालाई सरकारले प्याकेजको रुपमा अगाडि बढाउनुपर्ने माग गरे । सुदुरपश्चिमेली धेरैपटक सडकमा पुग्दा पनि माग सम्बोधन नभएको भन्दै अब कार्यान्वयनमा जान नीतिनिर्माण तहमा भएकाहरु एक्सनमा जानुपर्ने बताए । उनले भने, ‘सांसदज्यूहरु अब एक्सनमा जानुहोस्, सडकबाट कराएर हाम्रो मुद्दा समाधान भएन ।’ परियोजना निर्माण गर्न सुदुरपश्चिमका सबै राजनीतिक दलहरु एकमत हुनुपर्नेमा जोड दिए । योजनालाई बजारीकरण नगर्न सरकारलाई आग्रह गरे । यसै विषयमा उनले छिट्टै किर्तीपुरमा आजादी कन्सर्टको आयोजना गर्ने जानकारी गराए । 
कार्यक्रममा अभियन्ता हेम थापाले सम्पूर्ण क्षेत्रको विकास भइरहँदा सुदुरपश्चिमको विकास किन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारले सुदुर पश्चिमवासीहरुलाई सौताको जस्तै व्यवहार गरिरहेको आरोप समेत लगाए । 
पत्रकार ऋषी धमलाले पश्चिम सेती बनाउनका लागी सबै पार्टी एकजुट हुनुपर्ने बता । पश्चिम सेती परियोजनाको विषयमा बहस गर्ने समेत बताए । 
कार्यक्रममा सुदुरपश्चिम क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरु शेरबहादुर कुँवर यज्ञ बोगोटी, लक्ष्मी चौधरी, बीना बुढाथोकी, राम बहादुर विष्ट, लगायतका उपस्थिती रहेको थियो । 

विहीबार, २३ माघ २०७६, १० : ५४

प्रतिक्रिया