काठमाडौं – चालु आवको हालसम्म देशको विद्युत् प्रणालीमा १७० मेगावाटको विद्युत जोडिएको छ । गत जेठदेखि माघसम्मको अवधिमा नेपाल विद्युत प्राधिकरण तथा निजी क्षेत्रले निर्माण गरेका जलविद्युत आयोजनाको विद्युत जोडिएको हो ।
प्राधिकरणले निर्माण गरेको ६० मेगावाटको माथिल्लो त्रिशुली ३ ‘ए’ र १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत आयोजनासहित १० जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरेका छन् । जसमा २२ मेगावाटको तल्लो हेवा, ९.९ मेगावाटको इवाखोला, ५ मेगावाटको पिखुवा खोलाको विद्युत प्रणालीमा जोडिएको छ ।
यस्तै, २५ मेगावाटको काबेली बी–१, ७ मेगावाटको मार्दी, ८.५ मेगावाटको नौगाड, ३.३ मेगावाटको कपाडी गाड जलविद्युत आयोजनाले पनि उत्पादन सुरु गरेका छन् ।
माघ महिनामा मात्रै ३ जलविद्युत आयोजनाको विद्युत प्रसारण प्रणालीमा जोडिएको छ । ४.५ मेगावाटको पदम खोला, ६.६ मेगावाटको रुदी ‘बी’ र ५ मेगावाटको घलेम्दी जलविद्युत आयोजनाको विद्युत प्रणालीमा जोडिएका हुन् ।
उता ७.५ मेगावाटको माथिल्लो खोरुङगा खोलाको निर्माण पूरा भई आन्तरिक परिक्षण सकिएको छ । विद्युत प्राधिकरणको प्राविधिक टोलीले परीक्षण गरेपछि उत्पादन सुरु हुनेछ ।
यस्तै, २० मेगाावाटको तल्लो मोदी, ११ मेगावाटको तल्लो खारेखोला र २५ मेगावाटको सिंगटी जलविद्युत आयोजनाले पनि परीक्षण उत्पादन सुरु गर्दैछन् । चालू वर्षभित्र १ हजार ५ सय मेगावाट विद्युत प्रणालीमा थपिने लक्ष्य राखिएको छ ।
प्रतिक्रिया