यी १२ वडामा  स्वास्थ्यचौकी नै छैनन

शुक्रबार, २४ माघ २०७६, १४ : २६

जनप्रतिनिधि आएको  साढे दुई वर्ष बितिसक्दासमेत बैतडीका ८४ मध्ये १२ वडा स्वास्थ्यचौकी विहीन रहेका छन् । ती वडामा आधारभूत स्वास्थ्य सेवा प्रदानका लागि अप्ठ्यारो भएको सम्बन्धित स्थानीय तहले जनाएका छन् । 

डिलाशैनी गाउँपालिका–६, दोगडाकेदार गाउँपालिका–२, मेलौली नगरपालिका वडा नं १, ४ र ८ शिवनाथ गाउँपालिका वडा नं १, ३, र ५ सिगास गाउँपालिका वडा नं ४ र ७ तथा सुर्नया गाउँपालिका २ र ८ मा स्वास्थ्यचौकी छैनन् । 

वडामा स्वास्थ्यचौकी नहुँदा सेवा लिन नागरिकलाई अप्ठ्यारो हुने गरेको सुर्नया गाउँपालिका–८ का वडाध्यक्ष आनन्दसिंह बोहराले जानकारी दिए । 

स्वास्थ्यचौकी नभएका वडामा आधारभूत स्वास्थ्य सेवा प्रदानमा असहज भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

यसैबीच स्वास्थ्यचौकी नभएका वडामा चालु आर्थिक वर्षदेखि आधारभूत स्वास्थ्य केन्द्रका भवन निर्माण हुने भएका छन् । 

भवन निर्माणका लागि सङ्घीय सरकारले सम्बन्धित स्थानीय तहका खातामा रकम पठाएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिए । उनले भने, “अबको दुई वर्षभित्र सबै वडामा आधारभूत स्वास्थ्य केन्द्रका भवन निर्माण भइसक्छन् ।”

शुक्रबार, २४ माघ २०७६, १४ : २६

प्रतिक्रिया