गोलीकाण्डबारे अमेरिका किन मौन ?

६ बर्ष अगाडि

गोलीकाण्डबारे अमेरिका किन मौन ?

अक्टोबर ०१७ मा अमेरिकाको इतिहासमै सबैभन्दा ठूलो आमगोलीकाण्ड भयो । लस भेगासको एक म्युजिक कन्सर्टमा गोलीकाण्ड हुँदा ५८ जनाको ज्यान गयो । पाँच सयभन्दा बढी घाइते भए । अमेरिकी पत्रकार तथा राजनीतिक समालोचक बिल ओइरेलीले यस घटनालाई ‘स्वतन्त्रताको मूल्य’को संज्ञा दिए ।

उनको भनाइ उचित छ । लस भेगासमा भएको उक्त गोलीकाण्डको ३४ दिनपश्चात् टेक्सासको एक चर्चमा चलेको अर्को गोलीकाण्डमा २६ जनाको ज्यान गयो भने अन्य २० जना घाइते भए । हामीनजिकको चर्च, बजार वा फिल्म हलमा अर्को महिना यस्तै गोलीकाण्ड भए पनि हाम्रा लागि आश्चर्यको विषय बन्दैन । किनभने यो स्वतन्त्रताको मूल्य हो ।

हतियार राख्न हामी अमेरिकामा स्वतन्त्र छौँ । बन्दुकको गोली अनलाइनबाटै मगाउन हामी स्वतन्त्र छौँ । खुलेआम बन्दुक बोकेर हिँड्ने छुट हामीलाई छ । हामीले स्वतन्त्रताका लागि तिरेको मूल्य हो यो । कसैको मतलब नगर्ने स्वतन्त्रता हामीसँग छ ।

पीडितका लागि प्रार्थना गर्दै ट्विट गर्नुलाई अरूको मतलब गरिएको भन्न सकिन्न । घटनापछि एक–दुई दिन नराम्रो अनुभूति गर्नुलाई पनि मतलब गरेबराबर मान्न सकिन्न । अनि, पीडितप्रति सहानुभूति राखेर वा सहयोग गर्ने बहानाले फेसबुको फ्रोफाइलको फोटो परिवर्तन गर्दैमा त्यसलाई पनि अरूको वास्ता गरेको भनिन्न । साँच्चै हामीमा चिन्ता र चासो हुने हो भने समस्या समाधानका लागि प्रतिबद्ध भएर लाग्नुपर्ने हो । वास्तविकता के हो भने अमेरिकामा बन्दुकहिंसा बिकराल समस्याका रूपमा देखा परेको छ ।

केही आँकडा आफैँ बोल्छन् । अमेरिकाको ‘गन भाइलेन्स आर्काइभ’ले कम्तीमा चारजनालाई गोली हानी हत्या गरिएको घटनालाई आमगोलीकाण्डका रूपमा व्याख्या गरिएको छ । यस परिभाषालाई मान्ने हो भने अमेरिकामा यस्तो घटना नभएको दिनै छैन । १ अक्टोबरमा लस भेगासमा भएको घटना मात्र आमगोलीकाण्डको पहिलो उदाहरण होइन । यो केबल सबैभन्दा ठूलो घटना मात्र हो । सोही दिन कान्सास विश्वविद्यालयमा पनि गोलीबारीको घटना भएको थियो ।

समस्या त्यो वेला समाधान हुन्छ, जब हामी अरूको ख्याल गर्छौं अनि चिन्ता व्यक्त गर्छौं । सुरक्षाकर्मीले हाम्रो ख्याल गर्छन् तर बन्दुक हिंसाप्रति हामीलाई केही मतलब छैन । टेक्सास गोलीकाण्डका बन्दुकधारीले बन्दुक लाइसेन्सका लागि निवेदन दिएको कुरा टेक्सासका गभर्नर जर्ज एबोटले बताए तर, उसको निवेदन अस्वीकृत गरियो । यद्यपि ती व्यक्तिले कसरी बन्दुक पाए भन्नेमा एबोट आश्चर्यमा परेका छन् । त्यसो भए, कसरी ती व्यक्तिले हतियार पाए ? अनि त्यत्रो घटना कसरी घट्यो ? यस्ता कुतूहलले हामीलाई सोच्न बाध्य बनाएका छन् । यस्तो घटनामा कंग्रेसलाई पनि केही मतलब छैन ।

घटनाप्रति उदासीनता किन ?
बन्दुकहिंसाले आफ्नो परिवारलाई प्रत्यक्ष असर नगरेसम्म घटनाप्रति हाम्रो ध्यानाकर्षण हुने देखिन्न । उदासीनता किन हुन्छ भन्नेबारे सयौँ अनुसन्धान भएका छन् । दोस्रो विश्वयुद्धपश्चात क्याम्ब्रिज विश्वविद्यालयका मनोचिकित्सक जेटी क्याककर्डीले सन् १९४० र १९४१ भित्र लन्डनमा भएका बम बिस्फोटका घटनाको अध्ययन गरे । बम विस्फोटबाट मृत्यु भएका, विस्फोटका प्रत्यक्षदर्शी (भाग्यले बाँचेका) र बम विस्फोट आवाज टाढाबाट सुन्ने, गरी प्रभावित मानिसलाई उनले तीन वर्गमा राखे । रमाइलो कुरो त के छ भने विस्फोटको घटनाबाट प्रत्यक्षदर्शीमा गम्भीर मनोवैज्ञानिक प्रभाव परेको देखियो, तर अर्कोतर्फ विस्फोटको आवाज मात्र सुन्ने समूहले आफ्नो जित भएजस्तो महसुस गरेको तथा उत्साहित भएको पाइयो । किनभने, उनीहरू घटनास्थलबाट टाढा थिए । आफू बाँचेकोमा उनीहरू खुसी थिए । कुनै डरको अनुभूति उनीहरूमा पाइएन ।

यसर्थ, घटनाको प्रत्यक्ष अनुभव नगरेसम्म हामीले सुनेका गोलीकाण्डलाई हाम्रो दिमागले हल्का रूपमै लिने गर्छ । यस्ता घटनाले आफूहरूलाई असर नगरेकोमा हामी सबै मख्ख परेर बस्ने गर्छौं ।

समाधानको बाटो
केले गर्दा आमगोलीकाण्ड भयो भन्ने भन्दा पनि यतिखेर हामी आफैँ यस्तो घटना हुन नदिन कदम चाल्न सक्छौँ भन्ने प्रतिबद्धताको खाँचो छ । कसरी समस्याको समाधान गर्ने भनेर उत्तर खोज्नुभन्दा पनि समस्या समाधानतर्फ हामी दत्तचित्त भएर लाग्नुपर्ने देखिन्छ । बहस गरेर मात्र समस्यामा केही परिवर्तन आउँदैन भन्ने हामीलाई राम्रोसँग थाहा छ । यसर्थ, समाधानका लागि फरक कदम चाल्न अत्यावश्यक छ । मानौँ हामीले सन् २०२५ सम्म सबैभन्दा कम आमगोलीकाण्ड भएको देश भन्न चाहन्छौँ भने यसका लागि हामीले तत्काल कदम चाल्नुपर्ने देखिन्छ । हामीसँग भएको समस्या हामी आफैँले समाधान गर्ने हो भन्ने भावनासाथ अघि बढ्नुको विकल्प छैन । यदि आजैदेखि समस्या समाधानका लागि अघि नबढ्ने हो भने हामी हाम्रा साथी, आफन्त तथा सन्तानको ज्यान बन्दुक र गोली भिरेको कुनै पागलको हातमा छाड्नेछौँ । हाम्रो आफ्नै ज्यान पनि जोखिममा पार्नेछौँ । त्यसपछि मात्र हाम्रो होस खुल्नेछ । -नयाँ पत्रिका 

६ बर्ष अगाडि

प्रतिक्रिया