उद्योगकर्मी विदेशिएपछि घरेलु उद्योग बन्द

४ बर्ष अगाडि

आठबीस नगरपालिका–४ राकम कर्णालीमा गत आर्थिक वर्षमा स्थापना भएको एक घरेलु उद्योग बन्द भएको छ ।

 उद्योगमा रकम जुटाउन नसकेपछि पुराना कपडाबाट रुई निर्माण उद्योग बन्द भएको हो । 

उद्योगमा रकम नजुटेपछि सञ्चालकहरु खाडी मुलुक तथा भारततर्फ लागेका स्थानीयवासीले बताएका छन् । 

जिल्ला घरेलु उद्यमले यहाँका केही युवायुवतीलाई कपडा उद्योगसम्बन्धी तालिम दिएको थियो ।

 तालिम लिएकाहरुलाई तालिम सकिएपश्चात रोजगारीका लागि उद्योग स्थापना गरिएको थियो । 

गाउँघरमा खेर गएका पुराना कपडालाई प्रयोगमा ल्याउने र नयाँ उद्यमी सिर्जना गर्ने उद्योगको उद्देश्य हो । 

उद्योगकर्मी गाउँगाउँमा गई कच्चा पदार्थ पुराना कपडा सङ्कलन गर्न हिच्किचाउने र त्यहाँबाट उत्पादन हुने रुई उत्पादन धेरै गर्न नसक्ने हुँदा रकम कम मात्रामा जुट्यो र विदेशतर्फ लागेका बताइएको छ ।

 उद्योग स्थापना भएको करिब दुई महिनामै उनीहरुले उद्योगमा काम गर्न छाडिसकेका स्थानीयवासी गोकर्ण माझीले बताए ।
 
युवा विदेश लागेपछि उद्योगमा रहेका युवतीले समेत काम गर्न छाडेपछि लाखौँ रकम बालुवामा पानी हालेजस्तै भएको छ । 

वडाध्यक्ष रणबहादुर माझीका अनुसार पहिला उनीहरुकै रोहवरमा अनुदान थपियो, उनीहरुले काम गर्न छाडे, अहिले तालिमप्राप्त मान्छे गाउँमा पाउन मुस्किल भएको छ । “हामीले त्यो सम्बन्धीको तालिम प्राप्त मान्छेहरु खोजिरहेका छौँ”, उनले भने । 

नगरप्रमुख खड्कराज उपाध्यायले ‘युवा रोजगार’का लागि रु ८० लाख बजेट छुट्याइएको बताए । 

त्यहाँबाट केही मात्रामा रकम छुट्याएर पुनः लगानी गरेर उद्योग सञ्चालन गर्ने उनको भनाइ छ ।  रु ५३ हजार ८२४  जनश्रमदान र रु पाँच लाख अनुदान रकममा उद्योग स्थापना गरिएको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया