स्वआर्जनबाट आत्मनिर्भर बन्दै महिला

४ बर्ष अगाडि

भक्का बेचेर जीवनयापन गर्ने मोरङ कटहरी गाउँपालिका–२ निवासी सुनिता राजवंशीको नाम अहिले परिवर्तन भएको छ । उनले गर्दै आएकी कामको आधारमा धेरैले उनको नाम नै परिवर्तन गरी ‘भक्कावाली आन्टी’ भन्ने गर्दछन् । आफूले यो काम गर्न थालेपछि जीवनशैलीमा परिवर्तन भएको उनी बताउछन्। 

चोकमा बिहान–बेलुकाको समयमा उनलाई भक्का बेच्न भ्याइनभ्याइ हुने गरेको उनको भनाइ छ । ‘‘काम सानो ठूलो हँुदैन आफूसँग भएको सीपको प्रयोग गर्नु राम्रो ठानेर नै मैले यो व्यवसायलाई रोजेँ’’,उनी भन्छिन्।चामलको पीठोबाट बनाइने भक्का पूर्वी तराईका जिल्लामा निकै लोकप्रिय खाद्य वस्तुको रुपमा लिने गरिन्छ । 

 प्रायः धेरैले जाडोको मौसममा मात्र भक्का बेच्छन् तर आफूले वर्षभरि नै यसमा लागेको उनी बताउछिन् । भक्का बेचेरै दिनको रु एक हजार ५०० सम्म कमाइ हुने गरेको उनको भनाइ छ । यसबाट उनलाई घरायसी खर्च पुगेको छ । सानो उमेरमा घरमा आमाले भक्का बनाएको देखेको बताउँदै उनले पछि आफूले यसैलाई पेशाका रुपमा अगाडि बढाएको उल्लेख गरे । 

यस्तै मोरङको दुलारीं निवासी अम्बिका थपालियाको अब घरायसी प्रयोजनको सामान खरिद गर्न होस् वा आफ्नो नानीहरुको विद्यालयमा बुझाउनुपर्ने शुल्कको लागि श्रीमान्लाई खोज्न वा पर्खनुपर्ने दिनहरु हटेको छ । दुई वर्षदेखि दुलारीबाट विराटनगरसम्म आई सिटीसफारी (ब्याट्रीबाट चल्ने सवारीसाधन) चलाउन थालेपछि आफ्नो परिचय र जीवनशैलीमा परिवर्तन आएको बताउछिन् । 

आफ्नो कमाइको पैसा राख्न वा जम्मा गर्न थालेपछि कुनै पनि सामान लिनुपर्दा श्रीमानसँग पैसा माग्नु पर्ने बाध्यता छैन ।  ‘‘आफैँले आम्दानी गर्न सक्दा आनन्द हुने रहेछ’’ उनी भन्छिन्। पहिला सधैँ अभाव हुने बितेका दिन सम्झँदा कामप्रति झन् जोस बढेर आउने थपलिया बताउछिन् । 

शुरुशुरुका दिनहरुमा सफारी कुदाउन अलि अप्ठ्यारो लागेको तर विस्तारै बानी बसेको उनको अनुभव छ । जिन्दगीलाई राम्रो र सुख बनाउने कुरा आफ्नै हातमा हुने भनाइ रहेको छ । सिटीसफारीबाट राम्रो आम्दानी भइरहेको र आफू सन्तुष्ट रहेको बताउछिन् । 

यस्तै विराटनगर–१२ की शर्मिला तामाङ आफूले कपडा सिलाइको काम गरेको एक वर्ष भएको बताउछिन् । कपडा सिलाउने तालीम लिन धेरै खर्च नलाग्ने र सानो लगानीबाट शुरु गर्न सकिने उनको भनाइ छ । विभिन्न डिजाइनको लुगा सिलाउन आफूलाई रमाइलो लाग्ने र यसबाट आफ्नो आम्दानी राम्रो भएको प्रतिक्रिया दिँदै दुई÷चार पैसाको लागि कसैसँग हात फैलाउनु नपरेको भनाइ तामाङको छ । काम गर्न अल्छी र लाज मान्नु हुँदैन, काम गरेर खान लाज होइन भन्ने विचार र धारणा ल्याउनुपर्ने बताउछिन् ।
    
त्यस्तै अर्की महिला राधा चौधरी सधैँजसो लाग्ने साप्ताहिक हाटमा गएर थरिथरि खालको दाल, चना, हर्दी, कुचोजस्ता सामानको बिक्री गर्ने काम गर्छिन् । उनले साप्ताहिक हाटमा सामान बिक्री गर्न थालेको तीन वर्ष भएको बताउछिन् । उनी भन्छिन्, ‘‘आफ्नो कामलाई म सधैँ सम्मान गर्ने गर्छु ।’’ सामान खरिद गर्ने उनका आफ्नै ग्राहक छन् । 

कामलाई सम्मान गर्ने र पेशामा इमान्दार भएपछि व्यवसाय सञ्चालन गर्न कठिनाइ नहुने उनको तर्क छ । पहिला परिवारबाट आफूलाई साथ सहयोग नभएको बताउँदै उनी भन्छिन्, ‘‘पारिवारिक असहयोगले नै मलाई काम गर्ने कुरामा अझ बढी प्रेरणा मिल्यो ।’’ काम गर्न थालेपछि राम्रो आम्दानी भएको छ र परिवारदेखि समाजले हेर्ने दृष्टिकोणमा पनि परिवर्तन भएको उनको भनाइ छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया