मुल्य बढ्दा सुनको आयात ६३% ले घट्यो, ७ महिनामा ९ अर्बको आयात

४ बर्ष अगाडि

काठमाडौं – सुनको मुल्य आकाशिएपछि चालु आर्थिक बर्षको ७ महिनामा सुनको आयात ६३ दशमलव ५४ प्रतिशतले घटेको छ । चीन र अमेरिका बीचको व्यापार युद्ध लगायतका कारण गत असारदेखि अन्तरराष्ट्रिय बजारसँगै नेपालमा पनि सुनको मुल्य बढ्दै आएको छ । त्यसपछि कारोबारमा मन्दी आएपछि नेपालमा सुनको आयात घटेको हो ।
गत आवको ७ महिना (माघसम्म) ४ हजार ५२६ केजी सुन आयात भएको थियो । तर, चालु आवमा १ हजार ६५० केजी मात्रा सुन आयात भएको छ । यस्तै, रकमका आधारमा चालु आवमा रु. ९ अर्ब ४ करोडको सुन आयात भएको छ । गत आवको सो अवधीमा रु. २० अर्ब ५५ करोडको सुन आयात भएको छ । गत आवमा ३४ अर्ब भन्दा बढीको सुन आयात भएको थियो ।
नेपालले अधिकांश मात्रामा युएईबाट सुन आयात गर्दै आएको  छ । हङकङ, भारतदेखि पनि सुनको आयात गर्ने गरिन्छ । 
नेपालमा सुन आयात गर्ने अधिकार बाणिज्य बैंकहरूलाई मात्र छ । सुन किन्दा डलरमा किन्नु पर्ने हुन्छ । डलरमा सुन किन्दा विदेशी मुद्रा बढी मात्रामा बाहिरीने भएपछि सरकारले दैनिक २० केजीका दरले मात्रा सुन किन्न अनुमति दिएको छ । बैंकहरूले सुन लिएर नेपाल सुनचाँदी व्यवसायी महासंघ मार्फत व्यवसायीहरूलाई बिक्री गर्ने गर्छन् । 
सामान्य अवस्थामा नेपालमा सुनको मुल्य प्रतितोला ६० हजारको हारहारीमा थियो । पहिला अमेरिका र चीनको व्यापार युद्धका कारण सुनको नेपालमा सुनको मुल्य ७० हजार भन्दा माथि पुग्यो । त्यसपछि अमेरिका र इरान बीचको तनावका कारण सुनको मुल्य ७५ हजार पुगेको थियो । हालै कोरोनाको प्रभावका कारण सुनको मुल्य प्रतितोला ८० हजारसम्म पुगेको थियो । यसरी नेपाली ग्राहकहरुले सुन किन्न छाडेका छन्, फलस्वरुप सुनको आयातमा कमी आएको हो ।
अहिले कोरानाको कारण सुनको मुल्य थप आकाशिए पछि नेपालका सुनचाँदी पसल सुनसान भएका छन । कारोबार न्यून मात्रामा भएपछि व्यवसायीले बैंकबाट सुन लिन छोडेका छन् । फलस्वरुप बैंकमा ५०० केजी सुन स्टक रहेको बताइएको छ । साथै, बैंकहरूले पनि फागुनमा सुन आयात नगेरेको बताइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया