त्रिशुली र मर्स्याङ्दीको बिजुली काठमाडौं  ल्याउन चोभारमा सवस्टेशन बन्ने

सोमबार, ०३ चैत्र २०७६, १८ : १६

बीस वर्षदेखि अलपत्र परेको मातातिर्थबाट खोकनासम्म विजुली लैजाने योजनाका लागि सवस्टेशन निर्माण गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जग्गा उपलब्ध गराउने भएको छ । 

चोभार–खोकना–चापागाउँ १३२ केभी प्रसारण लाइन अन्तर्गत चोभारमा सवस्टेशन निर्माणको लागि मन्त्रालयले जग्गा उपलब्ध गराउने भएको हो । 

मातातीर्थबाट भक्तपुरसम्म बिजुली लैजानका २० वर्ष अघि योजना शुरु भएपनि खोकनाका स्थानीयले अवरोध गरेका थिए । त्यसपछि विकल्पमा चोभारमा सवस्टेशन निर्माण गर्ने योजना अघि सारिएको भएपनि जग्गा नहुँदा २० वर्षदेखि योजना अलपत्र छ । 

 उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सवस्टेशनका लागि आवश्यक जमिन उपलब्ध गराउने भएपछि अब चोभारमा सवस्टेशन बन्ने र प्रसारण लाइनले पूर्णता पाउने निश्चित भएको हो।

उद्योगमन्त्री लेखराज भट्टले सुख्खा बन्दरगाह निर्माणका लागि किनेको जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि सवस्टेशन बन्ने भएको हो । 

कति जमिन कहिलेसम्म उपलब्ध गराउने भन्नेबारे दुवै मन्त्रालयका उच्च अधिकारीहरुको टोली चोभार पुगेर स्थलगत अध्ययन गर्ने र टोलीको सिफारिसमा काम अघि बढाउने सहमति भएको छ।

चोभारमा सवस्टेशन नबनेमा त्रिशुली र मर्स्याङ्दी करिडोरबाट आउने बिजुली काठमाडौं ल्याउन समेत नसक्ने अवस्था रहेकोले सहजताका लागि जग्गा उपलब्ध गराउन लागिएको मन्त्री भट्टले बताए । 

सोमबार, ०३ चैत्र २०७६, १८ : १६

प्रतिक्रिया