फोरमलाई सरकारमा सहभागी हुन एमालेको आग्रह, के गर्लान् उपेन्द्र ?

६ बर्ष अगाडि


काठमाडौं-  एमालेले मधेसी र मधेसवादी दलको संविधान संशोधनको माग सम्बोधन गर्न पहिलो पटक बुधबार संघीय फोरमका नेताहरूसँग सरकारमा सहभागी हुन आग्रह गरेको छ। एमालेले राजपाका नेताहरूसँग पनि सरकारमा सहभागी हुन अनौपचारिक आग्रह गर्दै आएको छ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा संघीय फोरमसँग भएको बैठकमा एमालेले सरकारमा सहभागी हुन प्रस्ताव राखेको र आफूहरूले संविधान संशोधन नभइ सरकारमा सहभागी हुन सम्भव नभएको बताएको जानकारी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले दिए। उनले भने, ‘संविधान संशोधनसम्बन्धमा एमाले खुला हुन खोजेको पायौं।’ संविधान जारी भएपछिका २९ महिनाको अभ्यासमा तपार्इंहरू असफल भएको स्वीकार्दै संशोधनका लागि अघि बढ्ने हिम्मत गर्नुहोस् भनेर फोरमले एमालेसँग आग्रह गरेको थियो। एमालेले ‘संशोधनको आवश्यकता र औचित्य हेरेर अघि बढ्ने भएकाले सरकारमा तपार्इंहरूको सहभागिता आवश्यक ठान्छौं’ भन्ने धारणा राखेको स्रोतले बतायो।

वाम गठबन्धनबीच पार्टी एकताका लागि सातबुँदे सहमति हुँदै गर्दा सोमबार राति प्रधानमन्त्री निवास पुगेका संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवसँग प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केहीबेर गोप्य मन्त्रणा गरेका थिए। नेतात्रयबीच भएको गोप्य मन्त्रणा पनि फोरम र राजपालाई सत्तामा आउने वातावरण तयार पार्नका लागि भएको दाबी स्रोतले गरेको छ, अन्नपूर्ण पोस्टमा खबर छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया