गाउँपालिकाको लगानीमाा विद्युत् विस्तार शुरू

शुक्रबार, ०७ चैत्र २०७६, १२ : ३७

बाँकेको राप्ती सोनारी गाउँपालिकाको लगानीमा विद्युत् विस्तारको काम शुरू भएको छ । 

विद्युत् सेवा पुग्न नसकेको वडा नम्बर ३ र ४ बैजापुर क्षेत्रमा विद्युतीकरण गर्न खम्बा गाड्ने काम शुरू भएको गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले जानकारी दिए । 

उनका अनुसार वडा नं ३ बैजापुरको बैसागाउँबाट खम्बा गाड्ने कार्य शुरू भएको छ । 

नेपाल विद्युत् प्राधिकरणले लगाएको ठेक्काको विवाद नसुल्झेपछि गाउँपालिकाले आफ्नै बजेटबाट विद्युतीकरणको काम शुरू गरेको होे । 

सर्वसाधारणलाई विद्युत् सेवाबाट वञ्चित हुन नदिन गाउँपालिकाले आफ्नै बजेटबाट विद्युतीकरणको काम शुरू गरेको अध्यक्ष थारुले बताए । 

विद्युतीकरणका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०७६÷०७७ मा रु एक करोड ८९ लाख विनियोजन गरेको उनले जानकारी दिए ।

अध्यक्ष थारुका अनुसार चालु आर्थिक वर्षभित्र वडा नम्बर ३ र आगामी आर्थिक वर्षको बजेटबाट वडा नम्बर ४ मा विद्युतीकरणको काम सम्पन्न गरिने छ । 

विद्युत् बिहिन अवस्थामा रहेको वडा नम्बर ५ मा भने विद्युत् प्राधिकरणकै ठेक्का यथावत रहेको छ ।

 अध्यक्ष थारुले गाउँपालिकाले विद्युतीकरणको कामलाई उच्च प्राथमिकतामा राखेको बताए ।

 विद्युतीकरणको काम सम्पन्न गर्न सङ्घ र प्रदेश सरकारसँग आवश्यक पहल गर्ने र सम्भव नभए गाउँपालिका आफैँले बजेट थपेर भए पनि कामलाई पूर्णता दिने उनको भनाइ छ । 

विद्युतीकरणका लागि वडा नम्बर ३ मा कूल १९५ खम्बा गाड्ने योजना छ । खम्बा गाडिसकेपछि तार विस्तार गर्ने काम शुरू गरिने छ । 

विद्युत्का खम्बा गाड्न सुशासन निर्माण सेवाले ठेक्का सम्झौता गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए। 

गाउँमा विद्युतीकरणका लागि धमाधम खम्बा गाड्ने काम शुरू भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । अलपत्र अवस्थामा रहेको विद्युतीकरणको काममा गाउँपालिकाले पहल गरेको भन्दै स्थानीय बासिन्दा हर्षित भएका हुन् ।

सोनारी बघौडा ग्रामीण विद्युतीकरण समितिका सदस्य प्रेमराज श्रेष्ठले राजनीतिक प्रतिशोधका नाममा राप्तीपारीका जनतालाई विद्युत् सेवाबाट कसैले पनि वञ्चित गर्न नहुने बताए । 

राप्तीपारी क्षेत्रमा विद्युत् विस्तारको माग राख्दै पटकपटक धाउनु परेको स्मरण गर्दै उनले अब विद्युतीकरणको कामले चाँडै पूर्णता पाउने विश्वास व्यक्त गरे ।
 

शुक्रबार, ०७ चैत्र २०७६, १२ : ३७

प्रतिक्रिया