नेपालमा कोरोना संक्रमण : एउटै विमानबाट आएका ३ जना

विहीबार, २० चैत्र २०७६, १७ : ३३

नेपालमा हालसम्म एउटै विमानबाट आएका तीनजनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । गत चैत्र ४ गते (मार्च १७) मा कतार एयरलाइन्सको क्यूआर ६५२ नम्बरको फ्लाइटमा नेपाल आउने ३ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको हो । 

सो विमानबाट नेपाल आएकामध्ये दुईजनामा यसअघि कोरोना संक्रमण भेटिएको थियो । बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा कोरोना पुष्टि भएका अर्का व्यक्ति पनि सोही विमानमार्फत नेपाल आएका थिए । 

संक्रमितबारे मन्त्रालयले थप जानकारी दिएको छैन । 

शुरुमा चैत १० गते फ्रान्सबाट कतार दोहा ट्रान्जिट हुँदै नेपाल आएकी काठमाडौंकी एक युवतीमा कोरोना पुष्टि भएपछि सो विमानामार्फत आएकाहरुको ट्रेसिङ्गको क्रममा थप दुईजनामा संक्रमण पुष्टि भएको छ।

गत शनिबार पनि बेल्जियमबाट दोहा ट्रान्जिट हुँदै सोही विमानमार्फत नेपाल आएकी युवतीमा पनि कोरोना पुष्टि भएको थियो । 

कतारको दोहाबाट स्थानीय समय अनुसार मार्च १७ को बिहान ३ बजेर ५ मिनेटमा उडेको एअरवेजको जहाज मार्च १७ को बिहान १०ः३० बजे नेपाल आइपुगेको थियो । 

स्वास्थ्य मन्त्रालयका अनुसार  हालसम्म नेपालमा ११८४ जनाको नमुना परीक्षण भएको छ ।  काठमाडौंमा ४३ र धरानमा १२ वटा नमुना परीक्षणको क्रममा रहेको तथा सैनिक अस्पतालले १७ वटा स्वाबको नमुना परीक्षण भइरहेको छ । 

पढ्नुहाेस् : नेपालमा छैठाैं व्यक्तिमा भेटियो कोरोना संक्रमण

डाक्टर देवकोटाका अनुसार १६ जना उपत्यकामा र ९९ बाहिर गरी मुलुकभर १ सय ५ जना आइसोलेसनमा छन् ।

नेपालमा पहिलाे पटक गएकाे माघ ९ गते चीनबाट आएका एक विद्यार्थीमा संक्रमण भेटिएकाे थियाे । उनी उपचारपछि निको भइसकेका छन् ।

दोस्रो संक्रमित फ्रान्सबाट दोहा हुँदै कतार एयरवेजको क्यू आर ६५२ जहाजबाट काठमाडौं आएकी काठमाडौंकी १९ वर्षीया युवती हुन् । उनमा चैत १० गते कोरोना संक्रमण पुष्टि भएपछि सरकारले देशभर लकडाउन घोषणा गरेको थियो ।

त्यसपछि धादिङका एक व्यक्ति तेस्रो, चौथो धनगढीको र पाँचौं बाग्लुङको व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

कतार एयरवेजको क्यू आर ६५२ जहाजबाट १५८ यात्रु नेपाल आएकाेमा सरकारले अहिलेसम्म पनि ट्रेसिङ गरेर सबैकाे परिक्षण गर्न सकेकाे छैन । 

 

विहीबार, २० चैत्र २०७६, १७ : ३३

प्रतिक्रिया