ताजा समाचार

एम्बुलेन्स चालकलाई व्यक्तिगत सुरक्षाका लागी पिपिई वितरण

आइतबार, २३ चैत्र २०७६, १८ : २२

कोभिड–१९ को जोखिम रोकथाम तथा नियन्त्रणका लागि पश्चिम नवलपरासीका एम्बुलेन्स चालकलाई व्यक्तिगत सुरक्षात्मक सामग्री (पिपिई) उपलब्ध गराइएको छ । जोखिम मोलेर बिरामी बोक्दै आएका चालकलाई हुनसक्ने सङ्क्रमण रोक्न उक्त सामग्री वितरण गरिएको हो ।

जिल्लाका २५ एम्बुलेन्स चालकलाई स्थानीयस्तरमै उत्पादन भएको पिपिई वितरण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । सुनवल नगरपालिकाले उत्पादन गरेर स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरेको पिपिई एम्बुलेन्स चालकको सुरक्षालाई ध्यानमा राखी वितरण गरिएको कार्यालय प्रमुख गौरव ढकालले जानकारी दिए ।

एम्बुलेन्समा बिरामी बोकेपछि सरसफाइमा विशेष ध्यान दिनसमेत उनले आग्रह गरे । बिरामीलाई अस्पताल पु¥याउने अघि आफ्नो स्थानीय तहलाई जानकारी गराएर मात्र जान आग्रह गरे। उनले बिरामीबाट चालकलाई सङ्क्रमण नफैलियोस् भनेर सबै एम्बुलेन्स चालकलाई चालकको सिट पछाडि छेकवार गर्न पनि भनेको बताए ।

एम्बुलेन्स चालकलाई पिपिई लगाउने तरिका र उपयोगका बारेमा जानकारी पनि गराइएको सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापाले बताए । यो विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको नभए पनि तत्कालका लागि सुरक्षा गर्न सक्ने अवस्थाको छ, हावा पानी नछिर्ने भएकाले यसलाई पुनः प्रयोग पनि गर्न सकिन्छ । एम्बुलेन्स चालक सङ्घका जिल्ला अध्यक्ष कृष्णबहादुर सहानीले भने सुरक्षात्मक सामग्री पाए पनि शत्प्रतिशत सुरक्षा हुनेमा भने ढुक्क नरहेको बताए ।

जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्कर रायले प्रदेश सरकारबाट १५ थान पिपिई जिल्लामा आएको बताउँदै ती पिपिई स्थानीय तहलाई हस्तान्तरण गरी एम्बुलेन्स चालकलाई उपलब्ध गराइने जानकारी दिए ।
 

आइतबार, २३ चैत्र २०७६, १८ : २२

प्रतिक्रिया