पाँच हजार कीट प्रदेशका १३ जिल्लामा

शुक्रबार, २८ चैत्र २०७६, १९ : १३

सङ्घीय सरकार स्वास्थ्य सेवा विभागद्वारा पठाइएको कोरोना भाइरस रोग पहिचान गर्ने पाँच हजार कीट सामग्री हेटौँडामा आज आइपुगेको छ ।

वाग्मती प्रदेशको १३ जिल्लाको अस्पतालको आइसोलेसन र क्वारेन्टाइनमा रहेका कोरोना भाइरसको शंकास्पद विरामीको रोग पहिचान गर्ने ल्याबको कीट सामग्री आजै प्रदेशको १३ जिल्लामा क्रमशः वितरण गर्न कर्मचारीको ३ वटा टोली खटाइसकिएको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र हेटौँडाले जनाएको छ । 
 
अस्पतालको आइसोलेसन र क्वारेन्टाइनमा रहेका बिरामीको अनुपातलाई मध्यनजर गर्दै न्यूनतम २०० देखि ७०० सयसम्म कीट वितरण गरिने लक्ष्यसाथ प्याकिङ गरिएको र ती प्याकिङ वितरण भइरहेको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डाक्टर वसन्त अधिकारीले बताएका छन् । उनले केही कीट सामग्री कार्यालयमा राखिएको, आइसोलेसन र क्वारेन्टाइनमा राखिएका विरामीको अनुपात बढ्दै गएमा उक्त कीट सामग्री तुरुन्तै उपलब्ध गराउने पनि जानकरी दिए । 

विरामीलाई चिकित्सकको निगरामीमा राखिने र थप संक्रमित विरामीको पहिचान भएमा आइसोलेसन र क्वारेन्टाइन कक्षको संख्या बढाइने प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख रमेश अधिकारीले सञ्चारकर्मीलाई जानकारी दिए । 

उनका अनुसार प्रदेशका सबै अस्पतालमा आवश्यक चिकित्सक जनशक्ति र स्वास्थ्यकर्मी उपलब्ध गराउन बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालको संयोजकत्वमा रहेको विपद् व्यवस्थापन समितिले संघीय सरकारसंग गराउन माग गर्ने निर्णय भएको छ । 

हेटौँडामा आज अपराह्न सम्म ४ आइसोलेसनमा र १ जना क्वारेन्टाइनमा राखिएको हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर प्रविण श्रेष्ठले बताए । आइसोलेसन र क्वारेन्टाइनमा राखिएका विरामीको आजसम्ममा २५ जनाको ल्याब परिक्षण गरिएकोमा ती सबैको रिपोर्ट नेगेटिभ आएको छ । उनको अनुसार ३ जना विरामीको स्वाब परिक्षणको लागि कीटजन्य रोग अनुसन्धान तालिमकेन्द्र प्रयोगशाला हेटौँडामा पठाइएको छ । 
 

शुक्रबार, २८ चैत्र २०७६, १९ : १३

प्रतिक्रिया