ओखलढुङ्गामै कोरोनाको र्यापिड परीक्षण हुने भएको छ । प्रदेश नं १ सरकारले कोरोना परीक्षणका लागि आवश्यक स्वाथ्य सामग्री उपलब्ध गराएपछि जिल्लामै कोरोनाको र्यापिड परीक्षण गर्ने तयारी थालिएको हो ।
प्रदेश सरबारबाट र्यापिड डाइग्नोस्टिक टेस्ट अर्थात आरडिटी किट प्राप्त भएसँगै जिल्लामै सहजरूपमा कोरोना जाँच गरिने जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताए। उनका अनुसार आरडिटी किटले शरीरमा भाइरसको सङ्क्रमण भएपछि उत्पादन हुने एन्टिबडी भए र नभएको मात्रै निक्र्योल गर्छ । आरडिटीमा कोरोना पोजेटिभ भए कोरोनाको सङ्क्रमणको अनुमान लगाउन सकिन्छ । तिवारीले रासससँग भने, “र्यापिड टेस्टमा कोरोना पोजेटिभ देखियो भने यसको पुष्टिका लागि पीसिआर टेस्ट गराउनु अनिवार्य हुन्छ ।” आरडिटी किट प्रयोग गरेर १५ मिनेटमै कोरोनाको रिपोर्ट हेर्न सकिने उनको भनाइ छ ।
प्रदेश सरकारले जिल्लाका लागि १५० वटा आरडीटी किट उपलब्ध गराएको छ । जिल्लामा हालसम्म छ जनाको पीसिआर टेस्ट गराइसकिएको छ । कोरोना सङ्क्रमणको अनुमान गरिएका विदेशबाट आएका छ जनाको स्वाब धरान पठाएर पीसिआर टेस्ट गराइएको थियो ।
सबैको र्यापिड टेस्ट गरिने
जिल्लामा विदेशबाट आउने सबैको र्यापिड टेस्ट विधिबाट कोरोना परीक्षण गरिने भएको छ । मङ्गलबारको जिल्ला कमान्ड पोष्टले सो निर्णय गरेको हो । यसका लागि जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल तथा सम्बन्धित पालिकाहरुलाई संयोजनको जिम्मा दिइएको छ ।
प्रतिक्रिया