ओलीको जन्मदिनमा प्रधानमन्त्री निवासमा भारत र चीनका राजदूत

६ बर्ष अगाडि

काठमाडौँ, १२ फागुन- नेपालमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा वाम गठबन्धनको सरकार निर्माणसँगै उत्तर–दक्षिणको सक्रियता बढेर गएको छ । यसको झल्को शुक्रबार प्रधानमन्त्री ओलीको जन्मदिनका दिन देखियो ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली बिहानैदेखि आफ्नो ६७औं जन्मदिन मनाउन व्यस्त थिए । यही व्यस्तताबीच भारतीय र चिनियाँ राजदूतहरू छुट्टाछुट्टै रूपमा बालुवाटार पुगेर प्रधानमन्त्रीलाई शुभकामना दिए । उनीहरू बालुवाटार पुग्नु जन्म दिनको शुभकामना मात्र दिनु थिएन, नेपालको राजनीतिमा आफ्नो उपस्थिति जनाउनु पनि थियो ।

 शुक्रबार बिहानैदेखि प्रधानमन्त्रीको दिनभरको कार्यतालिका व्यस्त थियो । बिहानै बालुवाटारमा क्याबिनेटको बैठक आयोजना गरिएको थियो । धुम्बाराहीबाट ल्याइएको केक काटेलगत्तै मदन भण्डारी स्पोर्ट्स एकेडेमीले ल्याएको फुटबल आकारको केक काट्ने कार्यक्रम बनेको थियो ।

शुक्रबार बिहानै बालुवाटारमा दुई छिमेकी देशका राजदूतावासबाट प्रधानमन्त्रीको समय मागियो । प्रधानमन्त्रीको सचिवालयलाई भारतीय दूतावासबाट नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी र चिनियाँ दूतावासबाट नेपालका लागि चिनियाँ राजदूत यु होङले प्रधानमन्त्रीसँग भेट गर्न चाहेको जानकारी गराइयो ।
प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्रीको व्यस्त समयबाट दुई राजदूतका लागि समय निकालिदिए । ‘दुई राजदूतहरू आएर शुभकामना दिनुभयो, उहाँहरूले नेपालमा राजनीतिक स्थायित्व र विकासका लागि नयाँ सरकारसँग सहकार्य गरेर अगाडि बढ्न चाहेको बताउनुभयो,’ प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले भने ।

प्रधानमन्त्रीको जन्मदिनमा प्रधानमन्त्रीको सरकारी निवासमै पुगेर कूटनीतिक नियोगका प्रमुखले शुभकामना दिनु सामान्य कूटनीतिक नियमभन्दा नौलो हो ।

‘सामान्यतया यस्तो घटना अन्य देशमा देखिँदैन, हाम्रोमा मात्र देखिन्छ,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘उनीहरूले आफ्नो उपस्थिति र प्रभाव देखाउनकै लागि सक्रियता देखाएको देखिन्छ, उनीहरूले सक्रियता देखाउनु उचित हो तर प्रधानमन्त्रीज्यूले यसतर्फ ध्यान दिनुपथ्र्यो ।’

सामान्यतया कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले प्रधानमन्त्रीलगायतका नेपालका सरकारी उच्च अधिकारीसँग भेट गर्दा परराष्ट्र मन्त्रालयमार्फत जानुपर्ने कूटनीतिक मान्यता छ । तर, त्यो मान्यता नेपालका उच्च ओहोदामा बसेकाहरूले नै ख्याल नराख्ने परराष्ट्रका ती अधिकारीलेराजधानीसँग बताए, राजधानी दैनिकमा खबर छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया