पर्साको जिल्ला अस्पताल पोखरियाको प्रवेशद्वारमा स्वचालित स्यानिटाइजिङ बुथ स्थापना गरिएको छ ।
समाजवादी पार्टीका नेता निजामुद्दिन समानीको पहलमा समाजसेवी तारादेवी सरावगी र मुकेश सरावगीले सो बुथ स्थापना गरेका हुन ।
पोखरिया अस्पतालमा उपचार गराउन आउनेहरुलाई स्यानिटाइज विसङ्क्रमित गरेर अस्पतालभित्र प्रवेश गराउने उद्देश्यले सो बुथ स्थापना गरेको समाजसेवी सरावगीले बताए । अस्पताल भवनको प्रवेशद्वारमा स्थापना गरिएको सो बुथबाट एक व्यक्ति २० सेकेन्डमा स्यानिटाइज विसङ्क्रमित हुने उनले बताए ।
उक्त बुथको प्रदेशसभा सदस्य प्रह्लाद गिरीले शनिबार शुभारम्भ गरेर पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिल यादवलाई हस्तान्तरण गरे । कार्यक्रममा प्रदेशसभा सदस्य गिरीले समाजसेवी सरावगीले गरेको यो कार्य प्रशंसनीय रहेको बताउँदै कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि प्रविधिको प्रयोगमा जोड दिनुपर्ने आवश्यकता औँल्याए ।
नेता समानीले स्यानिटाइजर बुथले अस्पतालमा कोरोनाको सङ्क्रमण फैलिन नदिन सहयोग पु¥याउने बताउँदै यसको संरक्षणमा अस्पतालले ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रममा सांसद हरिनारायण रौनियार, पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनियार, उपप्रमुख सलमा खातुन र समाजसेवीद्वय सरावगीको सहभागिता थियो ।
प्रतिक्रिया