साउन २६ र २७ गते तय भएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन तोकिएको मितिमा नहुने छ ।
कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि २५ जना भन्दा धेरै भेला हुन नपाउने प्रावधान नहटेको भन्दै महासंघको पदाधिकारी बैठकले तोकिएको मितिमा निर्वाचन नगर्ने सहमति गरेको हो ।
सरकारले २५ जनाभन्दा बढी भेला हुन तथा पार्टी प्यालेस, क्लब, सिनेमा हल तथा स्कुल कलेजमा भने खोल्न अहिलेपनि प्रतिबन्ध लगाएको छ । त्यसैले सरकारले लकडाउन पूर्ण रुपमा खुलाएको १५ दिनभित्र निर्वाचन गर्ने सहमति भएको महासंघकी अध्यक्ष भवानी राणाले बताइन् ।
महासंघले सरकारसँग निर्वाचनका लागि अनुमति मागेको थियो । तर गत सोमबारको मन्त्रीपरिषद बैठकले लकडाउन खुलेको घोषणा गरेपनि महासंघको निर्वाचन अनुमति दिने विषयमा केहीपनि निर्णय नगरेपछि तोकिएको समयमा निर्वाचन गर्न नसकिएको अध्यक्ष राणाको भनाई छ ।
यसअघि गत चैतमा नै महासंघको निर्वाचत तोकिएको भएपनि कोरोना भाइरस र लकडाउनको कारण साउन २६ र २७ गतेका लागि तोकिएको थियो ।
प्रतिक्रिया