सौराहामा होटल खुले ग्राहक आएनन्

३ बर्ष अगाडि

चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुले पनि ग्राहक नआएपछि व्यवसायी निरास भएका छन् । होटल खुलेसँगै एक दुई दिन चहलपहल भए पनि बस्ने र खाने गरी ग्राहक नआएको व्यवसायीले जनाएका छन् ।  

विदेशी पर्यटक नआउने भए पनि स्थिति सहज हुने र आन्तरिक पर्यटक आउने व्यवसायीको चाहना थियो तर विभिन्न स्थानमा कोरोनाको सङ्क्रमण बढेपछि व्यवसायीको चाहना पूरा हुन सकेन ।  क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरे उत्साह साथ होटल खोलिएको भए पनि ग्राहक नआएको बताउछ । होटल खुलेको भोलिपल्ट आफ्नो होटलमा तीनवटा कोठा बुक भएको तर पछि स्थगन गरिएको उनले जानकारी दिए ।

जङ्गल सफारी लजका सञ्चालक घिमिरेले भने, “होटलमा सात जना कर्मचारी कार्यरत छन्, सात दिन भयो आजसम्म ग्राहक छैनन् ।” सौराहाका सबै होटलको अवस्था यस्तै रहेको उनले बताए । घिमिरेले थपे, “हाम्रो अपेक्षा पर्यटक नभए पनि मानिसको आवतजावत हुन्छ । बास बस्न ग्राहक आउँछन् भन्ने थियो त्यो पनि भएन ।” आउँदो भदौ १ गतेबाट आन्तरिक विमान सञ्चालनमा नआएमा होटल बन्द गर्ने सोचमा आफू पुगेको उनले बताए ।

होटलसँगै रेष्टुराँ पनि खुलेका  छन् तर ग्राहक छैनन् । रेष्टूराँ एण्ड बार एशोसिएशन ९रेवान०का अध्यक्ष दीपेन्द्र खतिवडा ग्राहकको आवतजावत अलिअलि भए पनि खाएर बस्ने गरी ग्राहक नआएको बताउछ्न । लामो समयसम्म बन्द गर्नुपर्दा पीडामा रहेका व्यवसायीले जेनतेन खोलेको भए पनि ग्राहक नआएपछि निरास भएको उनको भनाइ छ । शुरुका दिनमा केही उत्साह जगाएको भए पनि देशका ठाउँठाउँमा कोरोना बढ्दै गएपछि त्रासले ग्राहक नआएको उनको भनाइ छ ।
 
सौराहामा १०० हाराहारी रेष्टुराँ छन् । जसमध्ये ५६ वटा रेवानका सदस्य हुन् । आधाभन्दा बढी रेष्टुराँ थोरै कर्मचारी राखेर खुलेका छन् । सौराहामा होटलको सङ्ख्या ११० वटा रहेको छ जहाँ पाँच हजार ५०० हाराहारी कर्मचारी कार्यरत रहेका छन् । चितवन राष्ट्रिय निकुञ्ज घुम्न पर्यटक यहाँ आउने गर्दछन् । कोरोनापछि लकडाउनसँगै बन्द भएका होटल साउन १५ गतेबाट सञ्चालनमा आएका हुन् ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया