निषेधाज्ञा अवज्ञा गर्ने उद्योगी व्यापारीको चेतावनी

३ बर्ष अगाडि

लामो समयसम्म लकडाउन र निषेधाज्ञाले गर्दा व्यवसाय धरासायी भई पूर्णरुपमा बन्द गर्नुपर्ने अबस्था आएको भन्दै रुपन्देहीका उद्योगी व्यापारीले निषेधाज्ञा अवज्ञा गर्ने चेतावनी दिएका छन् । 

व्यवसाय पूर्णरुपमा बन्द गर्नुपर्ने अवस्थामा पुगेको तर सरकारले उद्योगी–व्यवसायीलाई कुनै पनि करमा छुट नदिएको भन्दै उद्योग व्यापार संगठन रुपन्देहीको तर्फबाट निषेधाज्ञा अवज्ञा गर्ने चेतावनी दिइएको हो ।

संगठनका अध्यक्ष नारायणप्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमा यसअघि जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकमा लकडाउन भदौ २० गतेसम्म लम्ब्याउने सिफारिस गर्ने विषयमा प्रशासनले ‘अन्तिम पटक’का लागि भनेर अनुरोध गरेकाले निजी क्षेत्रका प्रतिनिधिले सहमति जनाएको हुँदा अब गरिने लकडाउन स्वीकार्य नभएको बताए ।

निरन्तरको लकडाउनले उद्योगी व्यवसायीहरुले बैंकको ऋण, व्याज र किस्ता, घरबहाल, विद्युत, खानेपानी, टेलिफोन आदि न्यूनतम बिलहरु भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको उनको भनाई छ । 

कच्चापदार्थ र तयारी वस्तु ओसारपसारमा समस्या भएको छ, पसलमा रहेका सामान सड्ने, बिग्रने, मजदूर, प्राविधिक आदिको व्यवस्थामा समस्या भएको विज्ञप्तीमा लेखिएको छ ।

उनका अनुसार भदौ २१ गतेदेखि नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको निर्देशिका पालना गरी उद्योग, व्यवसाय सञ्चालन गर्न दिनुपर्ने विषयमा नगरपालिका र जिल्ला प्रशासनसँग सहमतिको प्रयास गर्ने र नमानेको खण्डमा उद्योग–व्यवसाय सञ्चालन गर्न सूचना जारी गर्ने उनले बताए । 

संगठनमा भैरहवामा २५ सय र जिल्लाभर ५ हजार उद्योगी–व्यवसायी आवद्ध रहेका महासचिव अनिल ज्ञवालीले बताए । सरकारले नागरिकको स्वास्थ्य सुरक्षा र संक्रमितको उपचारका लागि गर्नुपर्ने काम नगरेको तर लकडाउन मात्रै बढाएर अर्थतन्त्र धराशायी बनाएकाले अब गरिने लकडाउन स्वीकार्य नहुने महासचिव ज्ञवालीले बताए ।

३ बर्ष अगाडि

प्रतिक्रिया