निजामती सेवाप्रतिको जनअपेक्षा

भदौ २३, २०७७ | विष्णु घर्ती ‘भनभनेली’
ajaako_artha


सेवाग्राहीका समग्र अपेक्षालाई कार्यान्वयनमा ल्याउने मूख्य कार्य सरकार र कर्मचारीको हो । आवश्यक ऐन, नियमरुपी औजारको माध्यमबाट जनताको अपेक्षालाई निजामती कर्मचारीहरूले उनीहरूकै घरदैलो सम्म लैजान्छन् ।

विषयप्रवेश 
जनचाहना अनुकूल संघीयता स्थापित गर्न सिकाउँछ निजामती सेवाले । संघीयतालाई सरल र सहज तुल्याउँदै सबैलाई समेट्न वर्तमान निजामती सेवा अपरिहार्य छ । निजामती सेवाको मूल मर्म भनेकै सेवाहो । “सेवाहीः परमो धर्म” सनातनी संस्कृतिहो । मिजास र मिठासले मित्रताको पहिचान हुन्छ । मैत्रीपूर्ण कार्यान्वयन तह निजामती सेवाको शान हो । विशुद्ध सेवाभावबाट प्रेरित क्रियाकलापले जन अपेक्षालाई थप टेवा दिन्छ । समयको माग बमोजिम परिवर्तन हुन्छ निजामती सेवा । निजामती सेवालाई विगत कोजस्तो नबनाई समया नुकूलको सहयात्री बनाउने कार्य जिम्मेवारी कर्मचारीकै काँधमा आइपुगेको छ । निजामती सेवालाई हेर्ने आँखामा अनेक आयामहरू देखिन्छन् । सबै क्षेत्र, वर्ग, समुदाय, लिंग आदिको अपेक्षा यसै सेवाप्रति रहेको छ । निजामती सेवाले जनताका समस्यालाई केन्द्रविन्दुमा राखी समाधानको सुत्रलाई आत्मसात गरेको छ । जन अपेक्षालाई समिपबाट नियाल्दै कार्यान्वयनमा थप सुधार गर्ने बेला हो आजको निजामती सेवाको ।

निजामती सेवा
सरकारी संरचना, उसको कार्यक्षेत्र, कार्यसंस्कृति, सेवा प्रवाहको स्थिति, उत्तरदायित्वको अपनत्त्व, पारदर्शिता, उत्प्रेरणा, मनोबल, अनुशासन र नैतिकता, सदाचार, सन्तुलित विकास, स्रोत साधनको उचित व्यवस्थापन तथा उचित अनुगमन÷मूल्याङ्कन जस्ता विषयमा निजामती सेवाको अहम् भूमिका रहन्छ । जनताका आशा र विश्वासको मापन पनि यिनै विधिबाट हेरिन्छ । द्विविधाको निराकरण र सरलताका लागि निजामती सेवाको उच्च एवम् निःस्वार्थपूर्ण भूमिकालाई आवश्यकता ठानिएको छ । जनताका नजरमा विद्यमान सरकारी संरचना र प्रक्रियाहरू बोझिला मानिएका छन् । एकै प्रकृतिका कार्यसम्पादनमा दोहोरो स्रोत, साधन र समयको खर्च हुने र न्यून उपलब्धि प्राप्त हुने गरेको देखिन्छ । एउटा कर्मचारीले गर्न सक्ने कार्यसम्पादनको खास विश्लेषण र पहिचान भएको देखिँदैन । सरल नीति मार्फत सहजकर्ताको भूमिकामा उभिनु पर्दछ वर्तमान निजामती सेवा । सार्वजनिक सेवामा समन्वयात्मक भूमिका होस् भन्ने सबै जनताको चाहना तीब्र छ । यसो भएमा सहजै पुगिन्छ निजामती सेवाको परिकल्पित लक्ष्य र उद्धेश्यमा । कर्मचारीहरू जति क्रियाशील हुन्छन् त्यतिमात्रामा निजामती सेवाको प्रत्याभूति रहन्छ ।

राज्य सञ्चालन आँफै हुँदैन । सञ्चालन गर्ने भनेको सुव्यवस्थित तवरबाट सरकारले हो । सरकार÷प्रशासन राज्यको मष्तिष्कहो भने निजामती सेवाका कर्मचारीहरू उसका इन्द्रिय÷कर्मेन्द्रियहरू हुन् । मष्तिष्कको निर्देशनमा चल्दछन् इन्द्रियहरू । मष्तिष्क र इन्द्रिय÷कर्मेन्द्रिय आ–आफ्नै तवरले चल्न थालेमा एकात्मक शासन पलाउँछ । जनअपेक्षामा बाधा उत्पन्न हुन्छ । आशातीत प्रतिफल प्राप्त गर्न सकिँदैन आपसी समन्वयको अभावमा । मष्तिष्कले आफ्ना इन्द्रिय÷कर्मेन्द्रियको क्षमता र इन्द्रिय÷कर्मेन्द्रियले मष्तिष्कको मान राख्नु पर्दछ । सरकारको नीति विपरीत कर्मचारीले र कर्मचारीको क्षमता विपरित सरकारले कामगर्नु÷गराउनु निजामती सेवामा शोभनीय हुँदैन । सरकार र कर्मचारीको बुझाई एउटै भएमा मात्र जन अपेक्षाकृत निजामती सेवाले समाजमा समृद्धि ल्याउँछ । यसो भएमा सुनमा सुगन्ध स्वतः छाउँछ ।

जन अपेक्षा वृद्धि गर्ने तत्व सुशासन
निजामती सेवाको सुन्दरतामा सुशासन अभिन्न अंगका रुपमा अंगिकार गरिएकै छ सर्वत्र । ‘सु’को अर्थ शुभ वा राम्रो हुन्छ । सुशासनमा रामराज्यको परिकल्पना गरिएको पाइन्छ । गुड गभरनेन्स शब्दको पहिलो प्रयोग विश्व बैङ्कले सन् १९८९ मा गरेको पाइन्छ । नीति, विधि, थीति र रीतियुक्त प्रशासन नै खासमा सुशासन हो । राष्ट्रको चौतर्फी विकास र समृद्धिका लागि निजामती सेवाको आवश्यकता महसुस गरियो । जन मैत्री निजामती सेवा सेवाग्राहीका समीपमा रहने साथी हो । हाल सञ्चालित निजामती सेवामा जनताको अपनत्त्व हुने गरी चालिएको कदम नै वर्तमान शासन पद्धति हो । न्याय निसाफ मार्फत समाजमा समन्याय र समता ल्याउनु राम्रो शासनको कडी हो । साधुलाई सुली र चोरलाई चौतारो नमिलोस् र नमिलाईयोस् भन्नका लागि निजामती सेवाको पहरेदारी अपरिहार्य हुन्छ । लोकतान्त्रिक निजामती सेवालाई व्यवसायिक, स्वच्छ र गतिशील तुल्याउँन राजनीतिक सहमती र समझदारी अवस्यम्भावी छ । यसमा जनताको चाँसो झन बढीरहेको छ र अधिक मात्रामा अपेक्षा पनि प्रस्तुत गरिरहेका छन् ।

खास तत्त्व अन्तर निहित रहेको शालिग्राम जस्तै महत्त्वपूर्ण वस्तु हो निजामती सेवामा रहेको सुशासन । गण्डकीको शिर भागबाट बग्ने सबै ढुङ्गाहरू शालिग्राम बन्न सक्दैनन् । धेरैजसो ढुङ्गाका बाहिरपट्टी चुच्चाचुच्ची र विकारका वस्तुहरू बाक्लै टालिएका हुन्छन् । कुशासनरुपी विकृति, विसङ्गति, भ्रष्टाचार, अन्याय जस्ता वस्तुहरू पखालिएका छैनन् । यस खाले ढुङ्गा शालिग्राम होइनन् । शालिग्रामरुपी निजामती सेवालाई प्राप्तगर्न शालिग्राम बाहेकका ढुङ्गाहरूलाई गण्डकीमा होमिनु पर्दछ । चुच्चा चुच्ची फालेर, पखालिएर, कञ्चन र कामयावी भई आएका शालिग्रामरुपी निजामती सेवाकर्मीलाई छानेर सुशासनयुक्त सङ्घीय राज्य सञ्चालनमा समर्पित बनाउनु पर्दछ । निजामती सेवाले सार्वजनिक सरोकारका विषयमा सर्वधारणको पहुँचलाई परिपक्क पार्दछ । यस कार्यले सुशासनलाई थप परिष्कार गर्दछ र जनअपेक्षा पुरा गर्नमा मूख्य भुमिका निर्वाह गर्दछ ।

निजामती सेवाप्रतिका जन अपेक्षाहरू 
निजामती सेवामा यदाकदा देखा पर्दै गएका विकृति वा गलत क्रियाकलापहरूले गर्दा निजामती सेवाप्रति जन अपेक्षा कम हुँदै गएता पनि यसको विकल्प छैन नै भन्नु पर्दछ । आमूल रुपमा सुधारिएको निजामती सेवा देख्न चाहेका छन् जनताहरू । झन्जटिला प्रक्रियाहरूलाई आत्मसात गर्न इन्कार गर्ने इच्छा राख्दछन् । छिटो छरितो समयमा सेवा पाउँन लालायित छन् । आफ्नो छेउछाउमा आएर सेवाप्रदान गरोस् भन्ने चाहेका छन् । प्रविधिलार्इ अधिकत्तम रुपमा प्रयोग गरेको देख्ने आशा राख्दछन् । निजी क्षेत्रसँग तुलना गर्दछन् । आफूलाई सरकारी कर्मचारीले हप्काउने र दप्काउने भन्दापनिसम्मानसहितको सेवा ग्रहण गर्ने उत्कट अभिलाशालिएर आएका हुन्छन् । कोही कसैलाई भनसुन गर्नु नपरोस् भन्ने सोच्दछन् । सरल प्रक्रियाहुनु पर्ने र सहयोगीभावनाले ओतप्रोत होउन् र चुस्त दुरुस्त रुपमाकामहुने अपेक्षागर्दछन् । स्मार्ट निजामती सेवाबाट सेवालिनपाउँदाआफूलाई गौरव महसुस होस् भन्ने कुरा चाहेका छन् ।

जनकेन्द्रीत सेवाप्रदान गरेवापत नियमानुसार पाउने सुविधा बाहेक कोही कसैबाट कुनै पनि लाभ प्राप्ती गर्नु निजामती सेवाको पहिचानको विषय हुदै होइन । यस्तो नहोस् भन्ने जनअपेक्षाले गर्दा सरकार र निजामती सेवाको कार्यक्षेत्र तथा सेवा प्रवाहका संरचनालाई सुधार्न सकिने अवसर आएको छ । अनुभव, अध्ययन र अनुसन्धानबाट प्रतिपादित सिद्धान्त र असल अभ्यासलाई सार्वजनिक प्रशासन अन्तरगतको निजामती सेवामा अनुसरण गर्न सकिन्छ । यस सेवालाई थप प्रभावयुक्त पार्न सबल र सक्षम निजामतीकर्मीहरूले आफ्नो कार्यान्वयन पक्षलाई जनचाहना अनुरुप सुमार्गमा कुँदाइरहेका छन् । यिनीहरूको मर्म र भावना पनि जनतालाई बढीभन्दा बढी सरल ढंगबाट सेवा दिनु हो । राम्रोका लागि एक्लो प्रयास सम्भव छैन । सदा सर्वदा स्तूत्य तथा सत्कार्य गर्नेहरू निजामती सेवाका हिमायतीहरू हुन् । उनीहरूलाई साथ दिनु जनता र नीति निर्माताहरूको कर्तव्य पनि हुन आउँछ । यसरी सबैले आफ्नो कर्तव्य पुरा गरेमा अपेक्षाकृत निजामती सेवाको मुहार सुन्दर र चम्किलो देख्न सकिन्छ ।

निष्कर्ष
कर्मचारीको साझा सेवा निजामती सेवा हो । जनचाहना अनुरुप परिवर्तित शासन व्यवस्थाले अपेक्षा गरेका उपलव्धीलाई संस्थागत गर्न कर्मचारीहरू मूख्य साधन हुन् । सेवाग्राहीका समग्र अपेक्षालाई कार्यान्वयनमा ल्याउने मूख्य कार्य सरकार र कर्मचारीको हो । आवश्यक ऐन, नियमरुपी औजारको माध्यमबाट जनताको अपेक्षालाई निजामती कर्मचारीहरूले उनीहरूकै घरदैलो सम्म लैजान्छन् । अपेक्षाको पूर्णताका लागि सरकार र कर्मचारी दुवैको साझा हिस्सा र जिम्मेवारी रहन्छ एक रथका दुई पाङ्ग्रा झैं । निजामती सेवाले कार्यसम्पादन नगरेसम्म पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन हम्मेहम्मे नै पर्दछ । गैर निजामती भन्दा निजामती सेवाको भूमिका केन्द्रीय रुपमा रहेको देखिन्छ । विधि र विधानको उपयुक्त प्रयोग र सही समयमा सही निर्णय गरेका थुप्रै उदाहरण पनि छन् यस निजामती सेवासँग । त्यसैले न्याय संगत र त्रुटीरहित ढंगबाट जन अपेक्षालाई समयमै सम्बोधन गर्ने मूख्य भूमिकामा निजामती सेवाकै अव्वल स्थान रहेको बुझ्न सकिन्छ ।

सन्दर्भ सामग्री :
नेपालको संविधान, २०७२, नेपाल कानुनकिताब व्यवस्था समिति, बबरमहल, काठमाडौं ।
निजामती सेवा ऐन, २०४९ तथा नियमावली, २०५०, नेपाल कानुन किताब व्यवस्था समिति, बबरमहल, काठमाडौं ।
WWW.MOFAGA& PSC.GOV.NP

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८