काठमाडौंमा उत्पादन हुने यी विषाक्त स्यानिटाइजर प्रयाेग नगर्नुहाेला , स्वास्थ्यमा पर्नसक्छ गम्भिर असर

३ बर्ष अगाडि

कोरोना भाइरसको संक्रमण रोक्न सावुनपानीले हातधुने वा स्यानिटाइजर प्रयोग गरौँ भनेर प्रचार गर्न थालिएको चार महिना पुग्यो । यो अवधिमा शहरी क्षेत्र र सरकारी कार्यालयहरुमा स्यानिटाइजरको प्रयोग गर्ने क्रम अत्यधिक छ । 

तर प्रयोग गर्न थालेको ४ महिनापछि मात्र सरकारको एउटा निकायले काठमाडौंमा उत्पादन भएका पाँच प्रकारका स्यानिटाइजरमा स्वास्थ्यमा गम्भिर असर पर्ने खालको विषाक्त रसायन रहेको पत्ता लगाएको छ । 

औषधि व्यवस्था विभागले काठमाडौं र भक्तपुरका पाँच वटा उद्योगहरुले विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गरेको फेला पारेको हो । 

विभागको प्रयोगशालमा गरिएको परीक्षणमा काठमाडौंका चार र भक्तपुरका एक उद्योगले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने केमिकल प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेको पाइएको भन्दै सूचना जारी गरेको छ । 

सूचना अनुसार काठमाडौंस्थित हाइजिन सोप एण्ड केमिकल प्रालि, आधार केमिकल एण्ड फुड इन्डष्ट्री, सर्च केम कम हर्बल प्रडक्ट्स र सूर्यमुखी हर्बल प्रडक्ट्स र भक्तपुरको नेपाल कायाकल्प उद्योगले विषाक्त रसायन प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेका हुन् । 

बजारमा पाइने ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर’, ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर ओरिजिनल’, ‘एडभान्स्ड ह्यान्ड स्यानिटाइजर’, ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर रिफ्रेसिङ जेल’ र ‘सूर्यमुखी ह्याण्ड स्यानिटाइजर’ प्रयोग नगर्न विभाले सूचना जारी गरेको छ ।  

स्यानिटाइजरमा इथानोल बाहेकका अन्य केमिकल प्रयोग गर्न नपाइने भएपनि यी स्यानिटाइजरहरुमा विषाक्त रसायन मेथानोल समावेश भएको पाइएको विभागले जनाएको छ । 
विषाक्त रसायन मेथानोलले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ । 

विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गरेर मानवस्वास्थ्यमा असर पर्ने काम गरीसकेको ४ महिनापछि औषधी व्यवस्था विभागले ति उद्योगहरुलाई कारबाहीको प्रक्रिया अघि बढाइएको  जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया