कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु

३ बर्ष अगाडि

कोरोना भाइरसको संक्रमणबाट नेपालका एकाबिहानै ५ जनाको मृत्यु भएको छ । वीपी प्रतिष्ठान धरानमा दुईजना, चितवन मेडिकल कलेजमा एकजना, प्रादेशिक अस्पताल जनकपुरमा एकजना र बुटवलस्थित कोरोना विशेष अस्पतालमा एकजनाको मृत्यु भएको हो । 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा मृत्यु हुनेमा  मोरङको धनपालथान–६ का ४० वर्षीय पुरुष र विराटनगर–१२ का ७० वर्षीय पुरुषको मृत्यु भएको निधन भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए । 

कुनै दीर्घरोगको लक्षण नभएका ४० वर्षका पुरुषको आइतबार र ७० वर्षका युवाको आइतबार दिउँसो निधन भएको अस्पतालले जनाएको छ । भदौ १६ गते कोराना पुष्टि भएका बृद्धलाई पहिलादेखि नै उच्च रक्तचापको समस्या भएको बताइएको छ । योसँगै विपी प्रतिष्ठानमा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या २६ पुगेको छ ।     
     
त्यस्तै प्रादेशिक अस्पताल जनकपुरमा निधन हुनेमा महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–३ बस्ने एक ६० वर्षीय पुरुष रहेका छन् । कोरोना लागेर ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि भदौ २२ गते प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको उनको आइतबार मृत्यु भएको प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयका निर्देशक डा विजय झाले बताए ।      

चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु हुने व्यक्ति गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धा रहेको अस्पतालले जनाएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आई भदौ १५ गते अस्पतालमा भर्ना भएकी उनमा १७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण देखिएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आइतबार राति साढे ११ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए । 
बुटवलस्थित कोरोना विशेष अस्पतालमा मृत्यु हुनेमा कपिलवस्तुको शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिला रहेकी छन् । उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
२१ भदौमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको आईसीयूमा उपचार भइरहेको थियो । उपचारकै क्रममा आज बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनी मिर्गौला रोगबाट पीडित थिइन् । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया