एक ठाउँ विद्युत् अवरुद्ध हुँदा चार जिल्ला अन्धकार हुने समस्या

३ बर्ष अगाडि

गलकोट , साविक धवलागिरि अञ्चलका चार जिल्ला बागलुङ, म्याग्दी, मुस्ताङ र पर्वतमध्ये एक जिल्लामा विद्युत् अवरोध हुँदा चार जिल्ला नै अन्धकार हुँदै आएका छन् ।

राष्ट्रिय प्रसारण गे्रटको एक लाख ३२ हजार भोल्ट क्षमताको मोदी पावरहाउसबाट धवलागिरिका चार जिल्लामा एउटै फिडरबाट विद्युत् वितरण भइरहेका कारण समस्या हुँदै आएको छ । दैनिकजसो चार जिल्लामध्ये कतै न कतै समस्या भएको हुन्छ, तर त्यस जिल्लाको समस्याले मोदी फिडर नै बन्द गर्नुपर्ने कारणले चार जिल्लामै विद्युत् आपूर्ति बन्द हुन्छ । 

लोडसेडिङमुक्त भए पनि विभिन्न जिल्लामा आउने समस्याका कारण विद्युत् अनियमित भइरहने विद्युत् प्राधिकरण वाग्लुङ वितरण केन्द्रका प्रमुख इञ्जीनियर शिवनारायण गोशलीले जानकारी दिए। “लोडसेडिङ होइन, विद्युत् आपूर्ति अनियमित भएको हो”, केन्द्र प्रमुख गोशलीले भने, “मोदी पावरहाउसबाट एउटै फिडरबाट क्रमशः पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङ वितरण हुन्छ, कुनै जिल्लामा सानो समस्या आउँनासाथ मोदीबाटै विद्युत् काट्नुपर्ने समस्या छ ।” 

चार जिल्लामध्ये कुनै एक जिल्लामा विद्युत् पोल, तार तथा सबस्टेशनको ब्रेकरमा समस्या आउँनासाथ अन्य जिल्लामा समेत विद्युत् आपूर्ति नहुनु नै मुख्य समस्या रहेको गोशलीको भनाइ छ । यसको दीर्घकालीन समाधानका लागि चार जिल्लाका छुट्टाछुट्टै फिडर निर्माण गर्नुको विकल्प नरहेको गोशलीको भनाइ छ ।     
    
उनका अनुसार पुरानो विद्युत् वितरणको संरचना हटाएर चार जिल्लामा नयाँ प्रसारण लाइन विस्तार गर्न अर्बौँ बजेट लाग्ने छ । अहिले वाग्लुङको रामरेखा सबस्टेशनभन्दा अगाडि प्रसारण लाइनका अवरोध, रुख तथा अन्य संरचना हटाउनुपरेमा मोदीबाटै विद्युत् बन्द गर्दा अन्य जिल्लामा समेत विद्युत् जान्छ । 
 
अहिले प्रत्येक जिल्लामा बाढीपहिराका कारण विद्युत् पोलमा क्षति हुँदा बढी अनियमित भइरहेको, विद्युत् प्रसारणको अवरोधका रूपमा रहेको रुख हटाउने कार्य भइरहेका कारण चार जिल्लामा पटक–पटक विद्युत् आपूर्ति अनियमित भइरहेको छ । पछिल्लो समय प्रत्येक शनिबारको दिन भने चारै जिल्लाका विद्युत् कार्यालयले सूचना निकालेर मर्मतका लागि विद्युत् बन्द नै गर्दै आइरहेका छन् । यसरी चार जिल्लाका सबस्टेशन, ब्रेकरलगायतका उपकरणमा समस्या आउँदा विद्युत् नियमित हुनसकेको छैन । 

विद्युत उत्पादन र क्षमताका हिसाबले एक मिनेट पनि विद्युत् सेवा अवरुद्ध हुन नपर्ने अवस्थामा दिनमै पटक–पटक विद्युत् आउनेजाने समस्याले व्यवसायमा समेत नराम्रो असर पर्ने वाग्लुङ होटल व्यवसायी सङ्घका अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिए । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया