आज तिहारको चौथो दिन गोवर्धन पूजा मनाइएको छ ।
यसलाई गोरु तिहार, हल तिहार वा गोवर्धन पूजाको रुपमा मनाइने गरिन्छ ।
पौराणिक कथन अनुसार गोवर्धन गोकुल शहर नजिकै रहेको एक पर्वत हो । कृष्ण भगवान गोकुलमा गोपालहरूसँग बस्दथे । गोपालहरू देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रबाट उनीहरूले केही पाउँदैनथे ।
कृष्णले एकदिन गोकुलवासीहरूलाई केही नदिने इन्द्रको पूजा गर्नु भन्दा खनिज, घाँस, पानी र दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हो भन्ने कुरा राख्छन् र सबैजना त्यसै गर्न राजी पनि हुन्छन् । उनीहरु गोवर्धन पर्वतको पूजा पनि गर्छन् ।
आफ्नो सट्टा गोवर्धन पर्वतलाई पूजा गरेकोले रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको वृष्टी गराउँछन् । भगवान कृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सवै गोकुलवासीहरूलाई आश्रय दिन्छन् । अन्त्यमा आफ्नो हार मानि इन्द्रले गल्तिको लागि कृष्ण समक्ष क्षमा माग्दछन् ।
त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको हो । त्यसदिन घरघरमा गाईको गोवरले गोवर्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा गरिन्छ ।
प्रतिक्रिया